काठमाडौँ । नेपाली कांग्रेस १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले बिहीबार (असोज १५ गते)देखि सुरु हुने वडा अधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्वपूर्ण चरणका रूपमा लिनुपर्ने बताएका छन्।
वडा अधिवेशनको पूर्वसन्ध्यामा जारी विज्ञप्तिमार्फत डा. कोइरालाले वडा तहदेखि नै पार्टी संगठनलाई थप बलियो, अनुशासित र जनमुखी बनाउन सबै नेता–कार्यकर्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरेका छन्।
उनका अनुसार वडा अधिवेशन नेतृत्व चयन गर्ने नियमित प्रक्रिया मात्र नभई पार्टी संगठनमा नयाँ ऊर्जा सञ्चार गर्ने, कार्यकर्ताबीचको एकता मजबुत बनाउने तथा नेपाली कांग्रेसप्रतिको जनविश्वासलाई थप सुदृढ गर्ने अवसर पनि हो।
डा. कोइरालाले अधिवेशनका क्रममा व्यक्तिगत आग्रह–पूर्वाग्रहलाईभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य, लोकतान्त्रिक मूल्य र पार्टीको समग्र हितलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
उनले देशभरका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उत्साहपूर्वक वडा अधिवेशनमा सहभागी हुँदै आफ्नो लोकतान्त्रिक अधिकार र जिम्मेवारी निर्वाह गर्न अपिल गरेका छन्।
विज्ञप्तिमा उनले भनेका छन्, “नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उच्च मनोबल, उत्साह, जिम्मेवारीबोध र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।”




प्रतिक्रिया