काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्ने भएको छ।
नेपाली कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला देउवा पक्षले पनि समानान्तर रूपमा आफ्नो अधिवेशन प्रक्रिया थालेको हो। देउवा पक्षले वडा अधिवेशनबाट आफ्नो महाधिवेशन प्रक्रिया सुरु गर्न लागेको जनाएको छ।
देउवा पक्षले १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। सोहीअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। उक्त कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकिएको जनाइएको छ।
देउवा पक्षका नेता किरणराज पौडेलका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत खटाइसकिएको छ। वडा अधिवेशन सञ्चालनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत परिचालन गरिएको छ।
यसैबीच पूर्वसभापति देउवाले आजदेखि सुरु हुने वडा अधिवेशनलाई उत्साहपूर्वक र भव्य रूपमा सम्पन्न गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। बिहीबार बिहान अपिल जारी गर्दै उनले अधिवेशनको सुरुवातसँगै पार्टीको सम्पूर्ण पंक्तिलाई उत्साह र सक्रियताका साथ सहभागी हुन आह्वान गरेका हुन्।
देउवाले नेपाली कांग्रेसले झन्डै आठ दशक लामो राजनीतिक यात्राका क्रममा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनाका लागि पुर्याएको योगदान, त्याग र बलिदानलाई थप सुदृढ बनाउन १५औँ महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।




प्रतिक्रिया