‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु


रूपन्देही, १६ असोज । बुद्ध जन्मभूमि लुम्बिनी र बुद्धत्व प्राप्त गरको स्थानसँग सम्बन्धित ‘बौद्ध सर्किट’को अवधारणा, त्यसको कार्यान्वयन र लाभलगायत विषयमा अध्ययन, अनुसन्धान तथा विश्लेषणसहित प्रतिवेदन तयारी प्रक्रिया अघि बढेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, छायाँ नेपाल र इन्टिग्रेटेड सोसल डेभलपमेन्ट सेन्टर (आइएसडिसी) बीच त्रिपक्षीय रणनीतिक साझेदारी सम्झौता भई विस्तृत प्रतिवेदन तयारी प्रक्रिया अघि बढेको हो । अध्ययन प्रतिवेदन दिगो पर्यटन विकास तथा सीमापार सम्पर्कका लागि नीतिगत सुझाव र कार्यढाँचा तयारीमा केन्द्रित हुने बताइएको छ ।

तीनवटै संस्थाकोतर्फबाट संयुक्तरूपमा स्थलगत अध्ययन, तथ्याङ्क सङ्कलन तथा विश्लेषण, सरोकारवालासँग परामर्श र अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढेको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ ।

आइएसडिसीकी बोर्ड सदस्य स्वाति थापाका अनुसार परियोजनामार्फत अघि बढाइने सो प्रतिवेदन तयारीका क्रममा अध्ययन, अनुसन्धानसहित प्राज्ञिक क्षेत्रको नेतृत्व विश्वविद्यालय, प्रदेश तथा स्थानीय तहसँगको समन्वय छायाँ नेपाल र समग्र पक्षको समन्वय भने आइएसडिसीले गर्नेछ । छायाँ नेपालले परियोजनाका लागि रु १५ लाख आर्थिक योगदान गर्ने र अनुसन्धानको गुणस्तर सुनिश्चित गर्न विश्वविद्यालयले प्राध्यापक तथा विज्ञ परिचालन गर्ने बोड सदस्य थापाले जानाकरी दिए ।

सन् २०२७ जुलाईसम्म प्रतिवेदन तयार गर्ने कार्यादेश रहेको सो परियोजनाको रणनीतिक निर्देशन, प्रगति समीक्षा तथा अनुगमनका लागि तीनवटै संस्थाका प्रतिनिधि सम्मिलित अन्तरसंस्थागत सञ्चालन समिति गठन गरिने बताइएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा माणिकरत्न शाक्य, छायाँ नेपालकी अध्यक्ष सृष्टि सिलवाल र आइएसडिसीका अध्यक्ष सिद्धार्थ बज्र बज्राचार्यले सो परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको रजिष्ट्रार इन्द्रप्रसाद काफ्लेले जानकारी दिए ।