“भाषण होइन, नीति र सुशासन चाहियो”: बद्री अर्यालका पुस्तकमा समृद्धिको खोजी


काठमाडौँ । राजनीतिको रङ्गमञ्चमा नाराहरूको कोलाहल र आश्वासनका चाङ त सधैँ देखिन्छन्, तर ती नारालाई विचारको जगमा ढालेर देश रूपान्तरणको नीतिगत खाका कोर्ने प्रयास भने बिरलै हुन्छ। असोज १४ गते काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित एक समारोहले भने ठीक त्यही वैचारिक तिर्खा मेटाउने प्रयास गर्‍यो। जय नेपाल फाउन्डेशनको आयोजनामा लेखक बद्री अर्यालका दुई नवीन कृति- ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’– एकै मञ्चबाट विमोचित भए।

विभिन्न राजनीतिक दलका नेता, अर्थशास्त्री, साहित्यकार, कानुन व्यवसायी, युवा र खेलकुद जगत्‌का व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम पुस्तकको औपचारिक विमोचनमा सीमित रहेन; त्यो त नेपालको समृद्धि, सुशासन र भावी दिशाबारेको गहन मन्थनमा परिणत भयो।

सहयात्राको स्मृति र अक्षरको निष्ठा

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मञ्चमा उभिएर लेखक बद्री अर्यालसँगको आफ्नो लामो राजनीतिक सहयात्रा र आत्मीय मित्रताका पृष्ठहरू पल्टाए। राजनीति र सामाजिक आन्दोलनका उबडखाबड बाटोहरूमा सँगै हिँडेका सहयात्रीले अक्षरमार्फत देश बुझ्ने र बुझाउने चेष्टा गर्दा पौडेलको अनुहारमा भिन्नै सन्तोष देखिन्थ्यो।

“राजनीतिको भागदौडभित्रै रहेर पनि अध्ययन, अनुसन्धान र लेखनमा यो निरन्तरता दिनु आफैँमा अनुकरणीय छ,” महामन्त्री पौडेलले सहयात्रीको बौद्धिक सक्रियताप्रति खुसी व्यक्त गर्दै भने, “यो अक्षर-साधनाले आगामी दिनमा पनि निरन्तरता पाओस्।”

आर्थिक आधारको खोजी: खाली नाराबाट उत्पादनतिर

राजनीतिले विचारको बाटो देखाए पनि देश चलाउन अर्थतन्त्रकै इन्जिन बलियो हुनुपर्छ। नेकपा (एमाले) का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले लेखकको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’माथि विमर्श गर्दै यसै बिन्दुलाई जोडदार रूपमा उठाए।

पाण्डेको विश्लेषणमा यो पुस्तक समृद्ध नेपाल निर्माणका लागि चाहिने आर्थिक दृष्टिकोण र सोचको गतिलो जग हो। “मुलुक समृद्ध कसरी हुन्छ भन्ने उत्तर खोज्न अमूर्त भाषण होइन, यस्तै सुस्पष्ट आर्थिक आधारहरू चाहिन्छन्,” पाण्डेले भने, “विशेषगरी राजनीतिकर्मीहरू, जसले नीति निर्माणको साँचो बोकेका छन्, उनीहरूका लागि आफ्नो आर्थिक दृष्टिकोण परिपक्व बनाउन यो पुस्तक अनिवार्य पाठ्यसामग्री बन्न सक्छ।”

पुस्तकमा उठाइएका उत्पादन, उद्यमशीलता, आर्थिक राष्ट्रवाद, आत्मनिर्भरता र रोजगारी सिर्जनाका विषयले आजको नेपालको वास्तविक आवश्यकतालाई छोएको टिप्पणी पाण्डेको थियो।

राजनीतिको मर्म, आचरण र नयाँ पुस्ताको चुनौती

राजनीतिको नदी धमिलिँदै गएको र मूल्य-मान्यता खस्कँदै गएको गुनासो आम रूपमा सुनिरहँदा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले अर्को कृति ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ को गम्भीर समीक्षा गरे।

दाहालका अनुसार यो पुस्तक राजनीतिमा प्रवेश गर्न चाहने वा राजनीतिको यात्रा सुरु गर्दै गरेको नयाँ पुस्ताका लागि एक भरपर्दो ‘गाइड’ हो। “राजनीतिक दलभित्र नेतृत्वको दायित्व के हो ? कार्यकर्ताको जिम्मेवारी कहाँसम्म हुन्छ ? दलको वैधानिकता, राजनीतिक आचरण, इमानदारिता र नैतिक दृष्टिकोण कस्तो हुनुपर्छ ?” दाहालले प्रश्न गर्दै थपे, “यी यावत् गम्भीर प्रश्नहरूको उत्तर यस पुस्तकले निष्पक्ष रूपमा दिन खोजेको छ।” राजनीतिलाई सत्ता प्राप्तिको साधन मात्र नभई राष्ट्र निर्माणको पवित्र माध्यम मान्नेहरूका लागि यो पुस्तक पठनीय रहेको उनको ठहर थियो।

समारोहमा युवापुस्ताको प्रतिनिधि बनेर मञ्चमा उभिएकी तीस वर्षमुनिकी अधिवक्ता एवं स्वर्ण पदक विजेता राष्ट्रिय खेलाडी करिना पुरीका शब्दहरूमा पनि नयाँ पुस्ताको उत्सुकता र दायित्वबोध छचल्किएको थियो। “हामी युवाहरूले देश निर्माणका विषयमा आफ्ना धारणा स्पष्ट पार्न यस्ता विचारप्रधान पुस्तकहरू पढ्नुपर्छ,” पुरीले भनिन्, “यस पुस्तकले नयाँ पुस्तालाई मुलुकप्रतिको जिम्मेवारीबोध गराउन महत्त्वपूर्ण प्रेरणा दिएको छ।”

सिर्जनात्मक उचाइ र समृद्धिको बहुआयामिक बहस

वरिष्ठ साहित्यकार डा. नवराज लम्सालले दुवै पुस्तकको साहित्यिक तथा प्रस्तुति पक्षको सराहना गर्दै लेखकको मिहिनेत र सिर्जनात्मक क्षमताको प्रशंसा गरे। “शुष्क मानिने राजनीति र अर्थतन्त्रका विषयलाई पनि पाठकले सहजै बुझ्न सक्ने गरी सिर्जनात्मक र विशिष्ट शैलीमा प्रस्तुत गर्नु लेखकको ठूलो सफलता हो,” लम्सालले भने, “मुलुकको भविष्यप्रति चिन्ता र चासो राख्ने हरेक नागरिकले यी पुस्तक अध्ययन गर्नैपर्छ।”

जय नेपाल फाउण्डेसनका संस्थापक सदस्य तथा अधिवक्ता प्रकाश रावलको स्वागत मन्तव्यबाट सुरु भएको उक्त समारोहको अध्यक्षता पुस्तकका प्रकाशक हरि पराजुलीले गरेका थिए।

कार्यक्रममा उपस्थित वक्ताहरूले एउटै स्वरमा जोड दिए- नेपालमा समृद्धिको बहसलाई अब चुनावताका घन्किने सस्ता राजनीतिक नाराहरूमा मात्र सीमित राख्नु हुँदैन। समृद्धिलाई सुशासन, उत्पादन, उद्यमशीलता, राजनीतिक संस्कार र नागरिक दायित्वसँग जोडेर बहुआयामिक ढङ्गले अघि बढाउनु नै आजको मुख्य आवश्यकता हो।

लेखकको कृतज्ञता र समृद्धिको नयाँ सङ्कल्प

समारोहको अन्त्यमा आफ्ना अनुभूतिहरू साट्दै लेखक बद्री अर्याल भावुक अनि उत्साहित सुनिए। उनले आफ्ना दुवै कृतिमाथिको गहन समीक्षाका लागि समीक्षकहरूप्रति आभार प्रकट गरे। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने शुभेच्छुक, सद्भाव राख्ने आत्मीय जन र आयोजक जय नेपाल फाउन्डेशनप्रति हार्दिक धन्यवाद व्यक्त गरे।

राजनीतिक नेतृत्वको जिम्मेवारी, लोकतान्त्रिक संस्कार र सुशासनलाई ‘राजनीतिक दिग्दर्शन’मा तथा आर्थिक रूपान्तरण, रोजगारी र आत्मनिर्भरतालाई ‘आर्थिक दिग्दर्शन’मा अलग-अलग कोणबाट प्रस्तुत गरेका अर्यालका यी दुई कृतिले नेपाली सार्वजनिक वृत्तमा समृद्धिको बहसलाई निश्चित रूपमा नयाँ उचाइ र गति दिने विश्वास गरिएको छ।