काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसले विगतमा उठाउँदै आएका अधिकारका मुद्दा र प्राप्त उपलब्धिको समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।
शनिवार जनमत पार्टीको दाेस्राे महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिँदै घिसिङले मधेसमा अधिकार प्राप्तिका लागि भएका संघर्षबाट केही उपलब्धि हासिल भए पनि त्यसको वास्तविक कार्यान्वयन कति भयो भन्नेबारे समीक्षा आवश्यक रहेको बताए।
उनले विगतका निर्वाचनको परिणाम र त्यसबाट प्राप्त उपलब्धिको समेत समीक्षा गर्दै आगामी दिनमा मधेसका लागि के गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने धारणा राखे।
‘मधेसबाट राष्ट्रपति भए, अहिले प्रधानमन्त्री पनि छन्। तर मधेसी जनताको जीवनमा आधारभूत परिवर्तन आयो कि आएन, त्यसको समीक्षा गर्नुपर्ने बेला आएको छ,’ उनले भने।
मधेसमा अपेक्षाअनुसार विकास र परिवर्तन हुन नसक्दा जनतामा असन्तुष्टि बढेको उनको भनाइ छ। आफ्नो नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणमा रहँदा मधेसका धेरै क्षेत्रमा विद्युत् पहुँच विस्तार गरिएको स्मरण गर्दै उनले घरघरमा विद्युत् पुर्याउने काम भएको बताए।




प्रतिक्रिया