कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा सर्वसम्मत


रुपन्देही । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षबाट लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन्।

सोमबार सम्पन्न प्रदेश अधिवेशनको बन्द सत्रले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको अधिवेशन तयारी समितिका संयोजक गेहेन्द्र गिरीले नेपाल प्रेसलाई जानकारी दिएका छन्।

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि तथा सहभागी उपस्थित अधिवेशनको उद्घाटन सत्रपछि बन्द सत्र सञ्चालन भएको थियो। प्रदेश सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए।

सभापति पदका लागि प्यूठानका सरोज थापा (रोज राणा), पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसालले दाबी प्रस्तुत गरेका थिए। तीन जनाबीच प्रतिस्पर्धा हुने अवस्था बनेपछि नेताहरूबीच छलफल र सहमति जुटाएर राणालाई सर्वसम्मत सभापति बनाइएको नेता कृष्ण पोखरेलले बताए।

राणा यसअघि लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। उनी हाल प्रदेशसभा सदस्यसमेत रहेका छन्।

सभापति चयनमा सहमति जुटे पनि अन्य पदाधिकारी तथा सदस्यहरूको टुंगो लाग्न बाँकी रहेको तयारी समिति संयोजक गिरीले बताएका छन्। बाँकी पदहरूमा पनि सहमति जुटाउन नेताहरू छलफलमा रहेको र आवश्यक परे रातभर बसेर भए पनि प्रक्रिया टुंग्याइने उनले जानकारी दिए।