कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

शनिबार उम्मेदवारी घोषणा गर्दै लामाले जिल्ला सभापतिका रूपमा संगठन निर्माणमा पुर्‍याएको योगदान, संविधानसभा सदस्यका रूपमा संविधान निर्माणमा खेलेको भूमिका तथा बागमती प्रदेश सरकारको मन्त्रीका रूपमा प्राप्त अनुभवलाई आधार बनाएर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए।

उनले आफ्नो राजनीतिक यात्रा, पार्टी संगठनमा निर्वाह गरेको जिम्मेवारी र सार्वजनिक सेवाको अनुभवलाई मूल्यांकन गर्दै महाधिवेशन प्रतिनिधिहरूले आफूलाई केन्द्रीय सदस्यका रूपमा काम गर्ने अवसर दिने विश्वास व्यक्त गरे।

वि.सं. २०३० असार ९ गते काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ मा जन्मिएका लामा स्नातक तहसम्म अध्ययन गरेका छन्। निर्माण व्यवसायमा संलग्न उनी शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा पनि सक्रिय छन्।

कांग्रेसको राजनीतिमा २०६४ सालदेखि सक्रिय रहेका लामाले क्षेत्रीय उपसभापतिको जिम्मेवारीबाट संगठनमा काम सुरु गरेका थिए। १२औँ र १३औँ महाधिवेशनमा उनी लगातार दुई कार्यकाल क्षेत्रीय सभापति बने। २०६८ देखि २०७१ सम्म नेपाल तामाङ संघको केन्द्रीय सदस्यसमेत रहेका थिए।

२०७० सालको संविधानसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १ बाट निर्वाचित भएका लामाले संविधानसभा सदस्यका रूपमा कांग्रेस संसदीय दल कार्यसमिति सदस्य तथा उद्योग, वाणिज्य र उपभोक्ता हित संरक्षण समितिको सदस्यको जिम्मेवारी सम्हालेका थिए।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका उनी २०७९ सालको प्रदेशसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १(ख) बाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भए। त्यसपछि २०७९ चैतदेखि २०८० फागुनसम्म बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हाले।

कांग्रेसको १४औँ महाधिवेशनबाट काभ्रेपलाञ्चोक जिल्ला सभापतिमा निर्वाचित भएका लामा अहिले पार्टीको केन्द्रीय नेतृत्वमा भूमिका विस्तार गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका हुन्।