कांग्रेसको १५औँ महाधिवेशन: ७५ सय बढी प्रतिनिधि आइपुगे काठमाडौं


काठमाडाैं । नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा शुरु हुँदैछ । देशभर तथा प्रवासबाट आएका ७ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने यस पाँचदिने महाकुम्भले पार्टीको नयाँ वैचारिक दिशा तय गर्दै नयाँ कार्यसमिति चयन गर्नेछ ।

काठमाडौंको खुलामञ्चमा आज असोज १८ गते दिउँसो २ बजे भव्य समारोहका बीच नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने तय भएको छ । पाँच दिनसम्म चल्ने यस महाधिवेशनको उद्घाटन सत्रलाई भव्य बनाउन खुलामञ्च परिसरलाई दुलहीझैँ सिङ्गारिएको छ भने सुरक्षा र प्राविधिक व्यवस्थापनलाई अन्तिम रूप दिइएको छ ।

महाधिवेशनमा भाग लिन देशभरिका निर्वाचन क्षेत्र तथा जनसम्पर्क समितिहरूबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरू संघीय राजधानी काठमाडौं आइपुगिसकेका छन् । प्रतिनिधिहरूको आवास व्यवस्थापन काठमाडौंका विभिन्न होटलहरूमा गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

साथै महाधिवेशन प्रतिनिधिका लागि खानाको प्रवन्ध भृकुटीमण्डपमा मिलाइएको भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले बताए ।