काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खस–आर्यतर्फबाट केन्द्रीय सदस्य पदमा निर्मल रिजालले उम्मेदवारी घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै रिजालले उम्मेदवारी घाेषणा गरेका हुन् ।
आफ्नाे उम्मेदवारी घाेषणा गर्दै उनले पार्टीभित्र देखिएको विभाजन र गुटगत गतिविधिको अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध, आधुनिक र जनमुखी बनाउनुपर्ने बताएका छन्।
रिजालले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा वा पदको लोभबाट नभई लामो राजनीतिक अनुभव, संगठनप्रतिको निरन्तर योगदान र कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने उद्देश्यले दिएको बताए।
उनले नयाँ पुस्ताको भावना, बदलिँदो सामाजिक परिवेश र प्रविधिलाई आत्मसात् गर्दै पार्टीलाई समयअनुकूल बनाउनुपर्ने धारणा राखे। कांग्रेसलाई पारदर्शी, आधुनिक र जनमुखी बनाउँदै नयाँ राजनीतिक तथा संगठनात्मक संस्कार विकास गर्नुपर्ने उनको भनाइ छ।
रिजालले गगन थापाको नेतृत्वमा कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अभियानमा आफूलाई उभ्याएको बताए। थापाको नेतृत्वमा रहेको टिममा रहेर केन्द्रीय सदस्यको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न चाहेको उनले स्पष्ट पारे।
४७ वर्षदेखि कांग्रेस, पार्टी संगठन र लोकतान्त्रिक आन्दोलनसँग जोडिएर काम गरेको बताउँदै रिजालले आफ्नो राजनीतिक, व्यावसायिक तथा इन्जिनियरिङ अनुभवलाई पार्टी र देश निर्माणमा उपयोग गर्ने प्रतिबद्धता जनाए।
‘अनुभवलाई नयाँ नेतृत्वसँग जोड्ने, संगठनलाई सुदृढ बनाउने र कांग्रेसको नीतिलाई देश विकाससँग जोड्ने’ आफ्नो उम्मेदवारीको मूल भावना रहेको रिजालले बताए।




प्रतिक्रिया