किताब बगाएपछि बालबालिकालाई पढाइको पीर


काठमाडौँ, १९ असोज । पर्वतको जलजला गाउँपालिका–७ फर्सेस्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने दिवश केसीको कापी–किताब बाढीले बगायो।

कालीगण्डकी उर्लेर उनको घर गोठ बग्दा उनका कापी–किताब, विद्यालय पोसाक र झोला बग्यो। बगेको खाद्यान्न र लत्ता कपडाका लागि त राहत मिलेको छ तर उनले पढ्ने किताबबारे कसैको चासो देखिन्न। यो चिन्ता जति–उनी स्वयं भोग्दैछन्।

१० दिनदेखि विस्थापित लस्तीबासी खेतखेतमा प्लाष्टिकको टनेलमा बसेका छन् भने कतिपय आफन्तको घरमा पुगेका छन्। दीर्घकालीन रुपमा खाने–बस्ने समस्या भए पनि जिल्ला र प्रदेश तहदेखि आएको राहतले सबैका छाप्रा र कोठामा चामलका बोरा, तरकारी, नुन र तेल पुगिसक्यो। सबैले मिठै खान पाएका छन् तर किताब बगेका बालबालिकाको आफ्नै पीडा छ। गाउँमा राहत बाँड्न आएका धेरै समूहको भीडमा किताब पनि ल्याइदिएका छन् कि भनी हेर्ने गरेको कक्षा ८ मा पढ्ने सुलभ थापा बताउँछन्।

कालीगण्डकी बाढीले बगेको पर्वतको फर्सेस्थित शिव माविमा पढ्ने ४० विद्यार्थीको कापी कलम र किताबसहित विद्यालय पोसाक बगेको छ। विद्यालय पनि अहिलेसम्म खुलेको छैन। अभिभावकको सल्लाहमा आजदेखि विद्यालय खोल्ने तयारी छ तर विद्यार्थी रित्तै र पोसाक अभावमा पढ्न जान बाध्य छन्। परीक्षा कसरी दिने भन्ने उनीहरुमा चिन्ता छ।

“पीडितको घर छेउमा गएर कठैबरा भनिदिनेहरुले त झनै पीर पार्ने रहेछ,” स्थानीय पार्वती आचार्यले भनिन्, “केही शान्त भएको मन फेरि अशान्त भएको छ।” बालबालिकाको किताब खोजेर पनि नपाइने उनले बताइन्।

शिव माविकी शिक्षिका लक्ष्मी मल्ल थापाको पनि सबै घरखेत बगेको छ। उनी सुत्केरी छिन्, घर नभएपछि छिमेकीको आश्रयमा बसेकी छन्। पति अर्जुनसहित तीन छोरा र लक्ष्मी सुकुम्वासी जस्तै भएका छन्। जागिर भए पनि उनले तत्काल घर व्यवहार चलाउन नसक्ने अवस्था आइपरेको छ। शिक्षककै छोराछोरीको कापीकिताब छैन।

खेती किसानी गरेर बसेकाहरुको त यहाँ झन् बिजोग छ। विभिन्न स्थानबाट हेर्न, अवलोकन गर्नेहरु आइरहे पनि खाने अन्न र केही थानपाल बाहेक केही पाएका छैनन्। कक्षा १० मा पढ्ने दिवस केसी र कक्षा ९ मा पढ्ने दीपा दाजुबैनीले कापीकिताब बगेकामा चिन्ता व्यक्त गरेका छन्। “परीक्षा आउने बेला भयो, किताब छैन, के पढ्ने ?” दिवसले भने, “बजारमा खोज्न गए पनि कापीकिताब पाइँदैन।”

बालबालिकाको यो समस्याबारे अहिलेसम्म पुगेका दर्जन बढी राहत वितरणका समूहले ध्यान दिएका छैनन्। बरु राहतमा कसले कति बोरा चामल र पाल पाए भन्ने विवाद र झगडा भइरहेको देखिन्छ। सडक छेउमा कोही आइपुग्यो भने दौडेर राहत हो कि भन्दै पुग्ने स्थानीयले आफ्नै छोराछोरीको कापीकिताबबारे अहिलेसम्म सोच्न भ्याएका छैनन्।

जिल्ला र आसपासका धेरै मानिसले यहाँ पुगेर के कति धनमाल क्षति भयो भन्ने आँकडा निकाल्दा पनि बालबालिकाको समस्याबारे चासो राखेको पाइँदैन। शिव माविका कक्षा ८ मा पढ्ने दिवस विक, कक्षा १ का रेमन विक, निकिता शाह, कृतिका आचार्य, बिना केसी, उदय विक जस्ता धेरै विद्यार्थी दिउँसोको समयमा आफ्नो भत्केको र बगेको घर रहेको बगरमा गएर बालुवा खोसेर किताब खोज्ने गरेका छन् तर भेटिने कुरै भएन। प्रअ अमृत सापकोटाले भने, “शैक्षिक वर्षको मध्य भाग भयो, किताब पाउने समस्या छ, उनीहरुलाई कसरी पढ्ने व्यवस्था गर्ने भन्ने हामीलाई निकै समस्या परेको छ।”

बालबालिकालाई एउटा पेन्सिल र इरेजरको पनि महत्व बढी हुने उनले बताए। बाढीमा बगेको विवरण विद्यार्थी भेट्दा थाहा पाएको उनले बताए। विद्यालय भवन माहिलो मात्र पसे पनि अभिभावक घरबारविहीन भएकाले उनीहरुकै सल्लाहमा मात्र कक्षा सञ्चालन गर्ने सापकोटाले बताए ।

कालीगण्डकीको झोलुङ्गे पुल बगेपछि बागलुङको ढोडेनीबाट आउने बालबालिका र एक शिक्षकलाई पनि विद्यालय आउन सास्ती छ। पाँच मिनेटमा आइपुग्ने विद्यालय अब दुई घण्टाको घुमाउरो बाटो धाउनुपर्ने बाध्यता छ। असोज ११ गते रातिको बाढीले बगेका घरसहित ७१ घरमा बालुवा पसेर घरभित्रको खाने सामग्रीसहित सबै नष्ट भएको छ। बचेखुचेका सामान पनि हिलाम्मे छन्। भग्नावशेषमा भित्र छिर्न पनि जोखिम छ। नदीले बगाएर ल्याएका काठ दाउराको थुप्रो लागेको छ।

“सबै सामान बगे पनि मदुसमा धान थियो, हेर्न गएको हिलोले भरिएको रहेछ,” स्थानीय दीपा कार्कीले भनिन्, “माथिको हिलो फालेर एक मान्द्रो धान सुकाएकी छु। पखालेर केही बाँकी रहन्छ कि ?” अब यो स्थानमा बस्ने कि नबस्ने भन्ने पनि उनीहरुमा अन्यौल छ। सुरक्षित बासका लागि अन्यत्र जग्गा छैन। तसर्थ उनीहरुको बाध्यताबारे वडा अध्यक्षमार्फत सरकारलाई ध्यानाकर्षण गराई दिन भनेको उनले बताइन्। यता जलजला गाउँपालिकाले विस्थापितहरुको लगत संकलन गरी पुनःस्थापनाका लागि जिल्ला प्रशासन र पालिकाले पहल गरिरहेको अध्यक्ष राजु आचार्यले जानकारी दिए।