काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सभापति गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता भट्टराईले परिपक्व नेतृत्व, दूरदर्शी नीति र व्यापक समावेशी सहभागितामार्फत बदलिएको परिस्थितिमा कांग्रेसलाई थप मजबुत बनाउने सङ्कल्प व्यक्त गरे ।
नेपाल विद्यार्थी सङ्घको नेतृत्व सम्हालिसकेका भट्टराईले गतिशील र परिवर्तित राजनीतिक परिदृश्यमा कांग्रेसलाई युवासँगै अनुभवी तथा परिपक्व नेतृत्वको खाँचो रहेको औँल्याए । १५औँ महाधिवेशनलाई ज्यादा सहभागितामूलक, समावेशी र साङ्गठनिक सुदृढीकरणको माध्यम बनाउने प्रतिबद्धता जनाउँदै उनले भने, “बदलिएको कांग्रेसलाई अघि बढाउन जेनजी युवासँगै परिपक्व नेतृत्व आवश्यक छ, सोही दायित्वबोधका साथ मैले उपसभापतिमा उम्मेदवारी दिने विचार गरेको हुँ।”
विद्यमान राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेता भट्टराईले मुलुकलाई संकटबाट बाहिर ल्याउन कांग्रेसले दूरदर्शी नीति बोक्नुपर्नेमा जोड दिए । सत्तामा रहँदा वा सत्ताबाहिर रहँदा, सधैँ राष्ट्रका मूलभूत समस्याको अग्रसरताका साथ समाधान गर्ने पार्टी कांग्रेस नै भएको उनको भनाइ थियो। सशस्त्र द्वन्द्वरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने ऐतिहासिक कार्यदेखि २०७२ सालको समावेशी संविधान जारी गर्नेसम्मका ऐतिहासिक मोडमा कांग्रेसकै नेतृत्व निर्णायक रहेको उनले स्मरण गरे।
२०७२ को संविधानले महिला, दलित, जनजाति, मधेशीलगायत पछाडि पारिएका सबै समुदायलाई अधिकारसम्पन्न बनाएको उल्लेख गर्दै भट्टराईले मुलुकको आधुनिक जग निर्माणमा कांग्रेसको नीतिगत योगदानको चर्चा गरे। गाउँ-गाउँमा सञ्चार, स्वास्थ्य चौकी, विद्यालय, सडक र पुलपुलेसा निर्माणको अभियान कांग्रेसले ल्याएका सञ्चार, अर्थ, परराष्ट्र, जलस्रोत र स्वास्थ्य नीतिकै प्रतिफल भएको उनको दाबी थियो।
विचार, निष्ठा र राष्ट्रिय निकासको स्पष्ट खाका कांग्रेससँगै रहेको बताउँदै नेता भट्टराईले आगामी महाधिवेशनले पार्टीलाई थप एकताबद्ध र विचारनिष्ठ बनाएर अघि बढाउने विश्वास व्यक्त गरे।




प्रतिक्रिया