हिमाल, पहाड र तराई जोड्ने अठोट”: कांग्रेस महामन्त्रीमा अमरसिंह पुनको उम्मेदवारी घोषणा


काठमाडौँ । नेपाली कांग्रेसलाई आन्तरिक गुटबन्दीभन्दा माथि उठाएर समग्र नेपालीको भरोसाको बलियो केन्द्र बनाउने दूरदृष्टिसहित नेता अमरसिंह पुनले पार्टीको जारी १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पुनले पार्टी संगठनलाई सांगठनिक र वैचारिक रूपमा थप सशक्त, समावेशी र गतिशिल बनाउने प्रतिबद्धता व्यक्त गरे।

रोल्पाजस्तो दुर्गम भूगोलबाट राजनीतिक यात्रा सुरु गरी संगठनको जग बसालेका पुनले तल्लो तहका कार्यकर्ताको भावना र सांगठनिक संघर्षलाई नजिकबाट बुझेको बताए। “दुर्गम क्षेत्रमा संगठन निर्माण गर्दाका दुःख र अप्ठ्याराहरू मैले आफैँ भोगेको छु,” उनले भने, “त्यही भोगाइ र अनुभवलाई ऊर्जामा बदलेर कांग्रेसलाई अझ मजबुत, जीवन्त र कार्यकर्तामैत्री बनाउने मेरो अठोट हो।”

उनले महामन्त्रीमा निर्वाचित भएपछि हिमाल, पहाड र तराईलाई जोड्नुका साथै नेपालका सबै धर्म, संस्कृति र परम्परालाई समेटेर राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने स्पष्ट पारे।

आफू कुनै पनि गुट वा प्यानलको सहारा नलिई विचार र निष्ठाका आधारमा महाधिवेशनमा प्रस्तुत हुने घोषणा गरे। पार्टीमा नयाँ नेतृत्व र सर्वसम्मतिको वातावरण निर्माणमा जोड दिँदै उनले सभापतिमा गगन थापा निर्विरोध चयन हुने विश्वाससमेत व्यक्त गरे।