कांग्रेस महाधिवेशनमा निर्मला क्षेत्रीको सक्रियता, प्रतिनिधिसँग मत र समर्थनको आग्रह


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खुला महिला, क्रमसंख्या १९) पदकी उम्मेदवार निर्मला क्षेत्री महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो पक्षमा मत र समर्थन जुटाउन सक्रिय देखिएकी छन्।

महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा क्षेत्रीले आत्मीय संवाद गर्दै आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आग्रह गरिरहेकी छन्। विशेषगरी महिला प्रतिनिधिहरूसँगको संवाद र भेटघाटमार्फत उनले आफ्नो राजनीतिक यात्रा, अनुभव र पार्टीप्रतिको प्रतिबद्धता प्रस्तुत गरिरहेकी छन्।

सानै उमेरदेखि राजनीतिमा सक्रिय क्षेत्रीसँग पार्टी संगठनका विभिन्न तहमा रहेर काम गरेको अनुभव छ। प्रदेशसभा संसदीय अभ्यासदेखि संगठन निर्माण, महिला सहभागिता अभिवृद्धि र पार्टीका विभिन्न जिम्मेवारी निर्वाहसम्मको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको आधारका रूपमा अघि सारेकी छन्।

पार्टीको नीति निर्माणमा महिलाको सशक्त आवाज स्थापित गर्ने, संगठनलाई थप सुदृढ बनाउने र कार्यकर्ताको भावना तथा जनताका मुद्दालाई केन्द्रीय तहसम्म पुर्‍याउने प्रतिबद्धतासहित क्षेत्री प्रतिनिधिहरूसँग मत मागिरहेकी छन्।


कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि जारी निर्वाचनमा महिला उम्मेदवारहरूको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। यसैबीच, निर्मला क्षेत्रीको प्रतिनिधिहरूसँगको भेटघाट र समर्थन जुटाउने सक्रियताले उनको उम्मेदवारीलाई थप चर्चामा ल्याएको छ।