काठमाडौं । सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ। उनलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको छानबिनपछि दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो। सिफारिसअनुसार आवश्यक कागजात तयार पार्ने काम गृह मन्त्रालयमा भइरहेको स्रोतको भनाइ छ। उनलाई बर्खास्त गर्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ।
दाहाल गत असोज १९ गते निलम्बनमा परेका थिए। उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका ज्वाइँ हुन्। असोज ११ गते राणा बाँसबारीस्थित निवासबाट पक्राउ परेपछि दाहाल उनलाई भेट्न हिरासतमा पुगेका थिए।
दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत गतिविधिसम्बन्धी सूचना निगरानी गर्ने र गोप्य सूचना चुहावट गर्ने आरोप लागेको छ। राणाको मोबाइल फोनको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचना फेला परेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
यसैगरी, विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउन राणाले गरेको भनिएको प्रयासमा समेत दाहालको भूमिका रहेको आशंका गरिएको छ।




प्रतिक्रिया