भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन


रसुवा, २३ असोज । रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेंसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन। आँखैअगाडि बस्तीलाई बाढीले बढारेको दृश्य उनको स्मृतिमा कहिलेसम्म रहनेछ, थाहा छैन।

अझै पनि कहिलेकाहीँ यी सबै सपना हुन् कि जस्तो लाग्छ कान्छालाई। यतिका दिन बितिसक्दा पनि उनको आँखामा भदौ १० गतेको बाढीको भेल नाच्न छाडेको छैन। बाढीको गड्याङगुडुङ आवाज अझै कानमा गुञ्जिरहन्छ। भेलले बगाउँदै गर्दा आफन्त चिच्याएका थिए। ती आफ्नाहरूको चिच्याहट सम्झँदा मन काँप्न छाडेको छैन। ती घटना बिर्सन सके पो मन भारी हुन छाड्थ्यो कान्छाको।

बाढीमा मृत्यु भएका आफन्त र गाउँले अब कहिल्यै फर्केर आउने छैनन्। बेपत्ता भएका ती प्रियजन फर्कने आशा समेत मर्दै गएको छ। कहिलेकाहीँ कतैबाट फर्केर आउँछन् कि भन्ने भ्रम पनि कान्छाको मनबाट पूर्ण रूपमा हट्न सकेको छैन। आँखैअगाडि बगिरहेका ती प्रियजन सम्झँदा बस्तीलाई बाढीले बढारेको दृश्य आँखामा नाचिरहन्छ। अनि उनको मन झन् भक्कानिन्छ। सुन्दर बस्तीलाई बाढीले क्षणभरमै बगर बनाउला र यति धेरै कुरूप देखिएला भन्ने कल्पना समेत गरेका थिएनन् कान्छाले। उजाड बगर हेर्दा उनका आँखा रसाउँछन्।

त्यो दिन बाढीको भेल असामान्य रूपमा तीव्र थियो। बाढी आउँदा केही अग्लो स्थानमा पुगेर उनी ज्यान जोगाउन सफल भए। तर, सुरक्षित स्थानमा पुगेपछि पनि उनले देखेको दृश्य झनै भयावह थियो।

“गड्याङगुडुङ गरेर ठूलो आवाज आयो। के रहेछ भनेर हेर्दा त ठूलो बाढी रहेछ,” कान्छाले त्यो दिन सम्झँदै भने, “बेतोडले भागेर अलि माथि पुगें। तल हेर्दा मानिस बगिरहेका थिए। कोही चिच्याइरहेका थिए। हेर्दाहेर्दै स्याफ्रुबेंसी बजारलाई बाढीले बढार्‍यो।” आफू सुरक्षित ठाउँमा पुगे पनि अरूलाई जोगाउन नसकेको पीडा उनको मनमा गहिरो गरी बसेको छ।

“सयौं मानिस बगेको हेर्नुपर्‍यो। त्यस्तो भेलमा पसेर उनीहरूलाई जोगाउन सकिने अवस्था थिएन,” कान्छाले भने, “बगिरहेको हेर्नु बाहेक अर्को विकल्प नै के थियो र ? सम्झँदा पनि अहिले आङ सिरिङ्ग हुन्छ।”

त्यस दिन बाढीको भेलले कान्छाका बाल्यकालदेखिका सबै सम्झना समेत बगाएर लग्यो। सँगै खेलेका साथीहरू, परिचित अनुहार र त्यो बस्ती अहिले उनका सम्झनामा मात्रै छन्। गड्याङगुडुङको आवाज, एकाएक उर्लिएको भेल, मानिसको चिच्याहट र आँखैअगाडि बगिरहेको बस्तीको दृश्य सायद कान्छाको मानसपटलमा ननाचेको कुनै क्षण नै नहोला।

विपद् दोहोरिने डरले अझै तर्सिरहन्छ मन

बाढी गएको यतिका दिन बितिसक्दा पनि कान्छाको मन अझै डराइरहेको छ। घरीघरी ठूलो विपद् फेरि दोहोरिन्छ कि भन्ने चिन्ताले सताउन छाडेको छैन। “त्यो दिन सम्झँदा अहिले पनि डर लाग्छ,” उनले भने, “फेरि यस्तै विपद् दोहोरिन्छ कि भन्ने डर लागिरहन्छ। रातभर आनन्दले निद्रा समेत पर्दैन।”

कान्छाकी श्रीमती ल्हात्सेन डोल्पालाई पनि आँखैअगाडिको त्यो घटना न सम्झिन मन छ, न त बिर्सन नै सजिलो छ। उनका पनि कैयौं रात डरैडरमा बितिसकेका छन्। अझै मनको डर हट्न सकेको छैन।

“आकाशमा मेघ गर्जंदा पनि डर लाग्छ। हामीलाई जिन्दगीभर नबिर्सने छाप छाडेको छ त्यो बाढीले,” उनले भनिन्। अर्का स्थानीय सन्दु ज्ञावाले पनि आफ्ना ६ जना आफन्तलाई त्यही बाढीमा गुमाउनु पर्‍यो। बाढीले बगाएको बस्ती फेरि बनाउन सकिएला भन्ने लाग्छ सन्दुलाई। भत्किएका घर, सडक र संरचना पनि फेरि बनाउन सकिएला, तर बाढीले खोसेका आफन्त भने कहिल्यै फर्कने छैनन्। आफन्तको सम्झनाले उनलाई पनि हरेक दिन सताइरहेको छ।

सन्दुको घरलाई भने बाढीले छुन सकेन। घर जोगिएकामा खुसी हुनुपर्ने हो। तर, घरको आँगनको डिलमा उभिएर तल हेर्दा देखिने उजाड बगरले उनको मन झन् भारी बनाउँछ। आफ्नै घर जोगिएको खुसीभन्दा तलको बस्ती र आफन्त गुमाएको पीडा ठूलो छ उनलाई।

“बस्ती त फेरि बनाउन सकिन्छ होला। घर पनि फेरि बनाउन सकिन्छ, तर गुमाएका मान्छे कसरी फर्काउने र ?” सन्दुले भने। उनको भनाइमा बाढीले छाडेको पीडाको गहिराइ स्पष्ट झल्किन्छ।

गत वर्ष पनि यस पटकको जस्तै भारी वर्षा बिना भोटेकोशीमा बाढी आएको थियो। तर, त्यो बाढी यति ठूलो थिएन। सन्दुको मनमा अर्को डरले डेरा जमाएको छ—फेरि पनि यसभन्दा ठूलो बाढी आयो भने के होला ?

“अब त ठूलो बाढी जुनसुकै बेला आउला भन्ने डर लाग्छ। बचेको घर पनि कुनै दिन बगाएर लैजाला कि भन्ने चिन्ता हुन्छ,” उनले भने। त्यो दिन बाढी आउँदैछ भन्ने पूर्व सूचना आफूहरूले नपाएको सन्दुले बताए। नदीको आवाज अस्वाभाविक सुनिएपछि के रहेछ भनेर हेर्दा निकै ठूलो बाढी आएको रहेछ।

“हामीले बाढी आउँदैछ भन्ने सूचना पाएका थिएनौं। त्यस दिन बाढी आएको देख्ने बित्तिकै सुस्केरा हालेर आवाज दिन खोजे। कसैले सुनेन,” उनले भने। उर्लिरहेको बाढीको गर्जनसामु एउटा मानिसको आवाज कति ठूलो हुनु र ! सुनेर पनि भाग्न भ्याउने अवस्था थिएन। सन्दुले आवाज दिँदादिँदै आफ्नै आँखाअगाडि बाढीले बस्ती र मानिसलाई बगायो। त्यो दिन सम्झिँदा सन्दुको मन अझै झस्किन छाडेको छैन।

“अझै पनि यी सबै सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ। बिहान उठ्दा ‘अँ, धन्न सपना पो रहेछ’ भन्न पाए हुन्थ्यो,” उनले भने। तर, त्यो सपना हुन सक्दैन अब। यो कठोर सत्य हो, जसलाई स्वीकार गर्नुको विकल्प छैन।

स्याफ्रुबेंसी बजारको उजाड बगर हेरेपछि सन्दु आफन्तलाई सम्झिरहन्छन्। घरको आँगनमा उभिँदा घर बचेको र आफू बाँचेको खुसीभन्दा अरूलाई गुमाएको पीडा बल्झिन्छ। बाढीको भेल तलतिर बगेर गयो। तर, त्यसले सन्दु र अन्य बाँचेकाको मनमा छाडेको त्रास भने अझै बगेको छैन।

विपद्पछिको कठिन जीवनयापन

भोटेकोशीमा बाढी गएको ४५ दिन बितिसकेको छ। बाढीले खोसेका जीवन फर्केर आउने छैनन्। सम्पर्कविहीन आफन्त भेटिने आशा समेत मर्दै गएको छ। बाँचेका मानिस भने गुमाएका आफन्तको सम्झनामा टोलाइरहेका छन्। हिजोका सुन्दर बस्ती, हराभरा खेत र प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ अहिले उजाड बगर बनेको छ। त्यो बगर देख्ने जोकोहीको मन भारी हुन्छ र आँखा रसाउँछन्।

बाढीबाट जोगिएकाको जीवन पनि सहज छैन। घरबार र आफन्त गुमाएका परिवारको पीडासँगै दैनिक गुजारा चलाउने चुनौती थपिएको छ। “महँगी असाध्यै छ। हामी प्रभावित क्षेत्रका भए पनि प्रभावित परिवारमा नपरेकाले राहत लिन जान पनि मन लाग्दैन। किनेर खान पनि नजिकै ठाउँ छैन। अलि टाढा जाँदा असाध्यै महँगो पर्छ,” सन्दुले भने, “बाँच्नेलाई पनि जिउन निकै गाह्रो छ।”

विपत्तिले दिएको पीडा र अभावका बीच सन्दुको मनमा निराशासँगै पुनः सामान्य जीवनमा फर्किने झिनो आशा पनि बाँकी छ। सडक बन्ला, पुल बन्ला, बस्ती फेरि बस्ला र उजाडिएको ठाउँमा पुरानै सौन्दर्य फर्किएला भन्ने आशाले उनलाई घचघच्याइरहन्छ।

पुनर्निर्माणपछि जीवन फेरि सहज बन्ने विश्वास त छ, तर त्यसका लागि कति समय कुर्नुपर्ने हो भन्ने उनलाई थाहा छैन। अहिलेका लागि उनीसँग गुमाएका आफन्तको कहिल्यै नमेटिने सम्झना, विपद्ले छाडेको पीडा र फेरि जीवन लयमा फर्किने प्रतीक्षा मात्रै बाँकी छ।

वैकल्पिक आवतजावतका लागि तुइन

केही सामान किन्न र उपचार गर्न जानुपर्दा घण्टौं कुरेर तुइनबाट आवतजावत गर्नुपर्ने अर्को समस्या पनि कान्छा तामाङले सुनाए। “तुइनबाट खोला तर्दातर्दै अझै ठूलो बाढी आउँछ र तुइनसहित बगाउला कि भन्ने डर लाग्छ। के गर्नु, तुइन बाहेक अन्य कुनै विकल्प नै छैन,” उनले भने।

रसुवासहित बाढी प्रभावित क्षेत्रमा वैकल्पिक आवतजावतका लागि चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढी प्रभावित क्षेत्रमा आवतजावतका लागि बनाइएका ती तुइनको निर्माण तथा मर्मतमा करिब २० लाख रुपैयाँ खर्च भएको जानकारी दिए।

“नुवाकोटको इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीको तुइनलाई मोटराइज्ड गरिएको छ। त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेंसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्रको तुइनलाई मोटराइज्ड गर्ने काम भएको छ,” उनले भने, “रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित हाकुबेंसी र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने तुइन तथा नुवाकोटको विदुर नगरपालिका–५ देविघाट क्षेत्रका तुइन सञ्चालनमा छन्।”

अधिकारीका अनुसार थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेंसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा निर्माण कार्य सुरु भएको छ। विभागका अनुसार स्याफ्रुबेंसी–लाङटाङ क्षेत्रमा भने खानी क्षेत्र भएकाले नेपाली सेनाले आवागमन निषेध गरेपछि तुइन जडान गर्ने स्थान परिवर्तन गर्नुपर्ने भएको छ। रसुवाकै रुङ्गा क्षेत्रमा पनि तुइन जडानको तयारी भइरहेको विभागले जनाएको छ।

विपद्पछि १२ झोलुङ्गे पुलको मर्मत सम्पन्न

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सम्पन्न भएको छ भने थप नौवटा पुलको मर्मत अन्तिम चरणमा पुगेको छ। स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढीबाट क्षतिग्रस्त पुलको मर्मतका लागि पहिलो र दोस्रो चरणमा आवश्यक स्टिल पार्ट्स खरिद सम्पन्न भएको जानकारी दिए। तेस्रो चरणका लागि आवश्यक स्टिल पार्ट्स खरिदको सम्झौता भइसकेको र पहिलो चरणको सामान समेत आपूर्ति भइसकेको उनले बताए।

विभागका अनुसार मर्मत सम्पन्न भएका पुलमा नुवाकोटका पिमलटार–जागाराम, फोक्सेटार र जिलिङ तथा धादिङका मालिङ्गा–मझुवाटार दोभान, महादेवस्थान, केउरेनी–गहते, बेल्खु–भुतिया, कालिकास्थान, महेशदोभान–मास्टार, चिरौँदी खोला र शीतलबजार–क्युरेनीटार झोलुङ्गे पुल छन्। गोरखा–चितवन जोड्ने फिस्लिङ झोलुङ्गे पुलको मर्मत समेत सम्पन्न भएको विभागले जनाएको छ।

विभागका अनुसार यी १२ वटा झोलुङ्गे पुलको मर्मतमा करिब तीन करोड रुपैयाँ खर्च भएको छ। त्यस्तै, गोरखा–धादिङको बादरे, धुवादीघाट, जिन्टे–स्यालटार, धादिङ–नुवाकोट जोड्ने कोल्पु–कल्लेरीघाट, गोरखा–धादिङको जोगीमारा र कौडीखोला, गोरखा–चितवनको कुरिनटार (लेबाटार), धादिङको बिहानी पम्प र मलेखु झोलुङ्गे पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।

विभागले बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम समेत सुरु गरेको जनाएको छ। क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि आवश्यक लट्ठा खरिद प्रक्रिया पनि अघि बढाइएको छ। थप लट्ठा खरिदका लागि सहमति माग गर्दै मन्त्रालयमा प्रस्ताव समेत पेस गरिएको विभागका उपमहानिर्देशक अधिकारीले जानकारी दिए।