काठमाडौं । जेन्जी अभियन्ता अजय सोडारीले नेपाल प्रहरी र प्रहरी नेतृत्वमाथि सार्वजनिक रूपमा आरोप लगाउँदै आएका सत्तारुढ रास्वपाका सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले सांसद सुनारलाई प्रहरी संगठनमाथि निराधार आरोप लगाउने, अमर्यादित भाषा प्रयोग गर्ने र दबाब सिर्जना गर्ने गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका छन् ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सोडारीले जनप्रतिनिधिको गरिमामय पदमा रहेका सांसदबाटै समग्र प्रहरी संगठन र नेतृत्वको मानमर्दन गर्ने, धम्क्याउने र तर्साउने कार्य हुनु निन्दनीय भएको बताएका छन् ।
‘सांसद पद कसैलाई तर्साउने, धम्क्याउने, हप्काउने वा आफ्नो शक्ति प्रदर्शन गर्ने माध्यम होइन,’ विज्ञप्तिमा भनिएको छ ।
सोडारीले जनप्रतिनिधिले आफ्ना अभिव्यक्ति र व्यवहारमा संयम, शिष्टता तथा उत्तरदायित्व प्रदर्शन गर्नुपर्ने बताएका छन् । उनले सत्ताको आडमा राज्यका संस्थालाई दबाबमा राख्न खोज्ने प्रवृत्तिलाई दादागिरीको संज्ञासमेत दिएका छन् ।
उनले कुनै पनि व्यक्ति कानुनभन्दा माथि नरहेको उल्लेख गर्दै प्रहरी प्रमुख वा अन्य अधिकारीबाट कानुनविपरीत काम भएको भए निष्पक्ष अनुसन्धान गरी दोष प्रमाणित भए कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएका छन् । तर, स्थापित कानुनी प्रक्रिया अवलम्बन नगरी सार्वजनिक रूपमा आरोप लगाउनु विधिको शासन र न्याय प्रणालीमाथिकै चुनौती भएको उनको भनाइ छ ।
सोडारीले पछिल्लो समय सरकारको कार्यशैली र हस्तक्षेपका कारण प्रहरी संगठनको संस्थागत स्वायत्तता, व्यावसायिकता तथा कार्यक्षमतामाथि प्रश्न उठिरहेको पनि बताएका छन् । प्रहरी संगठनलाई राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट मुक्त राख्दै कानुनअनुसार काम गर्ने वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व भएको उनले उल्लेख गरेका छन् ।




प्रतिक्रिया