युवाहरूको सहभागिताले पार्टीमा नयाँ ऊर्जा र आकर्षण थपिएकाे छ : विश्वप्रकाश शर्मा


काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा युवाहरूको उल्लेख्य सहभागिता र उत्साह देखिएको बताएका छन्।

शुक्रबार नेतृत्व चयनका लागि भइरहेको निर्वाचनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले विभिन्न तहमा गरी ३५ हजारभन्दा बढी युवा पार्टीमा जोडिएको उल्लेख गरे। युवाहरूको सहभागिताले पार्टीमा नयाँ ऊर्जा र आकर्षण थपिएको उनको भनाइ छ।

उनले वर्तमान महाधिवेशनलाई कुनै एक पुस्तामा सीमित नभई चारदेखि पाँच पुस्ताबीचको सन्तुलनका रूपमा व्याख्या गरे। गाउँमा खटिएर काम गर्ने श्रमिकदेखि बौद्धिक वर्गसम्मका व्यक्तिलाई समेट्ने प्रयास भइरहेको उनले बताए।

महाधिवेशन एक दिन लम्बिए पनि निर्वाचन प्रक्रिया सहज र उत्साहजनक रूपमा अघि बढिरहेको शर्माले उल्लेख गरे। विगतका महाधिवेशनमा मतगणना तथा अन्य प्रक्रिया पूरा गर्न एक सातासम्म लाग्ने गरेको स्मरण गर्दै उनले यसपटक भने छिट्टै परिणाम आउने विश्वास व्यक्त गरे।