काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सत्ता र सिंहदरबारमा बस्नेहरूका लागि मात्र दसैँ आएको भन्दै बाढीपीडित, विपन्न र देश छाडेर जाने नागरिकका लागि दसैँको कुनै रौनक नरहेको टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षातकार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले वर्तमान सरकार, प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीमाथि कडा प्रहार गरे ।
प्रधानमन्त्री बालेन शाह इमानदार भएको भ्रममा नपर्न आग्रह गर्दै त्रिपाठीले सिंहदरबार र सर्वोच्च अदालतजस्ता मुलुकका धरोहर जलाएर त्यसको खरानीमाथि यो सरकार टिकिरहेको आरोप लगाए । ‘जेनजी आन्दोलनमा ७६ जनाको हत्या हुनुमा केपी शर्मा ओली र रमेश लेखक जति दोषी छन्, सुधन गुरुङ, बालेन शाह र जेल ब्रेक गर्ने रवि लामिछानेहरू पनि उत्तिकै दोषी हुन्,’ उनले भने ।
सहकारी ठगी प्रकरणमा जोडिएका रविसँग मिलेर बालेन शाहले प्रधानमन्त्री पद साटेको दाबी गर्दै त्रिपाठीले भने, ‘हजारौँ गरिबले मकै पोलेर सहकारीमा राखेको रकम अपचलन गर्ने र विभिन्न जिल्लामा मुद्दा खेपिरहेका रविसँग गठजोड गरेपछि धेरैले बालेनको साथ छाडिसकेका छन् ।’
कार्यक्रममा बोल्दै त्रिपाठीले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिलाई लिएर विवाद उठेको बताए । लामो समय बेलायत बसेका व्यक्तिलाई महान्यायाधिवक्ता बनाइएको भन्दै उनले आक्रोश पोखे ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भ्रष्टाचार र कमीकमजोरी गरेको भए उनीमाथि कारबाही हुनैपर्नेमा त्रिपाठीले जोड दिए । ‘उच्च र पुनरावेदन हुँदै सर्वोच्चसम्म भ्रष्टाचारलाई संस्थागत गर्ने चोलेन्द्र हुन्,’ त्रिपाठीले भने, ‘अहिलेका प्रधानन्यायाधीश मनोज शर्माको योग्यता नपुग्दै चोलेन्द्रले नै सर्वोच्चमा ल्याएका हुन् । चौथो वरीयताका शर्मालाई चोलेन्द्रकै डिजाइनमा प्रधानन्यायाधीश बनाइएको छ ।’
चोलेन्द्रमाथिको अनुसन्धान पछिल्लो समय कमजोर बनाइएको र यस प्रकरणमा सत्ताधारी रास्वपाकै धेरै नेता फस्ने डरले यस्तो गरिएको दाबी गर्दै उनले निष्पक्ष अनुसन्धानको माग गरे । बालेन सरकारले हालसम्म जस-जसलाई पक्राउ गर्यो, तीमध्ये एउटा पनि मुद्दा अदालतमा नटिकेकाले अब विश्वसनीय छानबिन हुनुपर्ने उनको भनाइ थियो ।
पुराना दलहरूले ३५ वर्षमा जति लुटतन्त्र मच्चाए, रास्वपा सरकारले ६ महिनामै त्योभन्दा बढी बद्मासी गरिसकेको आरोप त्रिपाठीले लगाए । ‘अन्तर्वार्ताको परिणाम नआउँदै नियुक्ति दिएर मेरिटोक्रेसीको धज्जी उडाइएको छ,’ उनले भने, ‘हिजो कल बाइपासको अभियोग लागेका व्यक्तिहरूबाट शासित हुन मुलुक बाध्य छ भने रास्वपाका १८२ सांसदको काम सरकारको स्तुतिगानमा मात्र सीमित भएको छ ।’
यस्तै, भोटेकोशी बाढीपीडितहरू गैरसरकारी संस्थाले दिएको राहतको भरमा बाँचिरहेको उल्लेख गर्दै त्रिपाठीले सरकारले संकलन गरेको रकम कहाँ छ र के गर्दै छ भन्ने तुरुन्त सार्वजनिक गर्न माग गरे ।




प्रतिक्रिया