कांग्रेसलाई युवा पुस्ताले चाहेजस्तो बनाउँछु: डिला संग्रौला


काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री पदमा विजयी भएपछि डिला संग्रौला पन्तले पार्टीलाई युवा पुस्ताले चाहेजस्तो बनाउन प्रतिबद्ध भएर लाग्ने बताएकी छन्।

महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै संग्रौलाले आफूलाई खुसीसँगै जिम्मेवारीको बोध भएको बताइन्।

नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउँदै नयाँ बाटोमा अघि बढाउने र युवा पुस्ताको चाहनाअनुसार पार्टी निर्माण गर्ने अभियानमा आफू प्रतिबद्ध भएर लाग्ने उनको भनाइ छ।

कांग्रेसको पहिलो महिला महामन्त्री बन्न सफल भएको विषयमा उनले यसलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि महिलाहरूको गौरवका रूपमा व्याख्या गरिन्।

महिला संघमा आबद्ध दिदीबहिनीहरूले आफूलाई मत दिएर यो स्थानमा पुर्‍याएको उल्लेख गर्दै उनले यसलाई सबै महिलाको गौरव भएको बताइन्।