काठमाडौँ। बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा रहेका मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा सडक अवरुद्ध हुनुका साथै केही स्थानमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।
बागमती प्रदेशको धादिङस्थित त्रिभुवन राजपथअन्तर्गत धुनिवेशी नगरपालिका–९, खत्रीपौवामा गत असोज २१ गते पहिरो खसेपछि सडकमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
त्यसैगरी, गण्डकी प्रदेशको म्याग्दीस्थित बेनी–जोमसोम सडक खण्डको रघुगंगा गाउँपालिका–२, बैसरीमा पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
नवलपरासीस्थित कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३, जन्ती पहिरो क्षेत्रमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ। उक्त सडक खण्डमा साना सवारीसाधन मात्र सञ्चालन हुन सक्ने अवस्था रहेकाले ठूला सवारीसाधन आवतजावत गर्न नसकेको जनाइएको छ।
यस्तै, मनाङमा गत असोज १८ गते आएको बाढीका कारण बेंसीसहर हुँदै खाङसार जाने सडकमा पनि एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नं. ९ को नयाँपुल क्षेत्रमा आइतबार आएको बाढीका कारण सोतीस्थित फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
बाढी तथा पहिरोका कारण विभिन्न सडक खण्डमा यातायात प्रभावित भइरहेकाले सम्बन्धित क्षेत्रबाट यात्रा गर्ने सवारीचालक तथा यात्रुले सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नु उपयुक्त हुनेछ।





प्रतिक्रिया