बाढीपीडितको पुनःस्थापनामा वाईसीएल सक्रिय, २१ परिवारलाई प्रचण्डले गरे घर हस्तान्तरण


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटका बाढी प्रभावित २१ परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरेका छन्।

मंगलबार रसुवा जाने क्रममा प्रचण्डले वाईसीएल नेपालले निर्माण गरेका घर प्रभावित परिवारलाई हस्तान्तरण गरेका हुन्।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बाढीबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको हो।

वाईसीएल नेपालले बाढी प्रभावित परिवारको आवास व्यवस्थापनका लागि १६० घर निर्माण गर्ने काम अघि बढाएको छ। यसअघि प्रचण्डले बाढी प्रभावितलाई अस्थायी आवासको व्यवस्था गर्न वाईसीएलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए।

बाढीपछि प्रभावित क्षेत्रको अवस्था, पीडित परिवारको पुनःस्थापना र पुनर्निर्माणको प्रगतिबारे जानकारी लिन प्रचण्ड मंगलबार रसुवा पुगेका हुन्।