काठमाडाैँ। भारत सरकारले वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ। भारतीय विदेश सेवामा लामो अनुभव हासिल गरेका दलेला नेपालका लागि भारतको २७औँ राजदूत बन्ने भएका हुन्।
दलेलाको नियुक्तिका लागि भारतले केही समयअघि नेपालको परराष्ट्र मन्त्रालयमा ‘नोट भर्बल’ पठाएको थियो। भारतीय विदेश मन्त्रालयका अनुसार उनी चाँडै राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आउनेछन्।
नयाँ राजदूत नियुक्त हुनुअघि दलेला भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए। उनले सन् २०२५ सेप्टेम्बर १ देखि उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले आफ्नो कूटनीतिक करिअर इजरायलको तेलअभिभबाट सुरु गरेका थिए। त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।
नेपाल र भुटानसँगको सम्बन्धसम्बन्धी विषयमा विशेष अनुभव हासिल गरेका दलेलाले सन् २००६ मा भारतीय विदेश मन्त्रालयको उत्तर विभागमा निर्देशकका रूपमा काम गरेका थिए। त्यसपछि सन् २०१६ देखि २०१९ सम्म सोही विभागको सहसचिवको जिम्मेवारी सम्हालेका थिए। उक्त विभागले नेपाल र भुटानसँग भारतको सम्बन्धसम्बन्धी विषय हेर्छ।
दलेलाले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए। यसअघि सन् २००९ देखि २०११ सम्म नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्रीको कार्यालयमा निर्देशकका रूपमा कार्यरत थिए।
व्यापार तथा आर्थिक नीतिका क्षेत्रमा समेत अनुभव हासिल गरेका दलेलाले भारतको वाणिज्य विभागमा व्यापार नीतिसम्बन्धी निर्देशकका रूपमा काम गरेका थिए। विश्व व्यापार संगठन (डब्लूटीओ) मा रहेको भारतको स्थायी नियोगमा दुईपटक जिम्मेवारी सम्हालेका उनले सन् २०१४ देखि २०१६ सम्म भारतका उपस्थायी प्रतिनिधिका रूपमा काम गरेका थिए।
त्यसैगरी, उनी सन् २०२० देखि २०२२ सम्म वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा डेपुटी चिफ अफ मिसनका रूपमा कार्यरत थिए।
भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारीमा रहँदा उनले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशसँग विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा उदीयमान रणनीतिक प्रविधिसम्बन्धी विषय हेर्दै आएका थिए। दलेला ब्रिक्स, आईबीएसए तथा भारत, इजरायल, यूएई र अमेरिकाबीचको आईटूयूटू पहललगायत विभिन्न रणनीतिक तथा बहुपक्षीय साझेदारीसम्बन्धी विषयमा भारतको प्रतिनिधित्व गर्ने कूटनीतिज्ञसमेत हुन्।
परराष्ट्र सेवामा प्रवेश गर्नुअघि उनले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका थिए।
यसअघि नेपालका लागि भारतका २६औँ राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएका छन्। सन् २०२२ जुनमा नेपालका लागि राजदूत नियुक्त भएका श्रीवास्तवले सन् २०२६ अक्टोबर १ मा कार्यकाल पूरा गरेका हुन्।
श्रीवास्तवको कार्यकाल समाप्त भएपछि भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा दलेलालाई नियुक्त गरेको हो।




प्रतिक्रिया