झापामा चाडपर्व सुरक्षा रणनीति: भीडभाडमा ड्रोनबाट निगरानी गरिने


झापा । चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलता हेरी मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा ड्रोनबाट निगरानी गर्ने जनाएको हो ।

योजनाअनुसार जिल्लाभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी दुई हजार १२७ सुरक्षाकर्मी परिचालन गरिनेछ । नेपाल प्रहरीतर्फ एक हजार १९२ र सशस्त्र प्रहरीतर्फ ९३५ सुरक्षाकर्मी खटाइने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । “चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन एकीकृत सुरक्षा योजना बनाइएको हो”, उनले भने ।

सुरक्षा योजनाअन्तर्गत जिल्लाका ६२ संवेदनशील स्थानमा ‘पिकेट’ स्थापना गरिनेछ । त्यस्तै, ३५ टोलीबाट मोबाइल गस्ती र ३१ टोलीबाट पैदल गस्ती गरिनेछ भने सम्भावित घटनामा तत्काल परिचालन हुन सातवटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) तयारी अवस्थामा राखिनेछ ।

चोरी, लुटपाट, पकेटमारी, जुवातास तथा सट्टेबाजी, मादक पदार्थ सेवनबाट हुने झैँझगडा र सवारी दुर्घटनालाई मुख्य सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको छ । यस्ता गतिविधि नियन्त्रण गर्न नियमित तथा आकस्मिक चेकिङ, संयुक्त जाँच र रात्रिकालीन गस्तीलाई तीव्रता दिइनेछ ।

त्यसैगरी, सीमा सुरक्षा तथा सीमापार अपराध नियन्त्रणका लागि थप जनशक्ति परिचालन गरिनेछ । ट्राफिक व्यवस्थापन, यात्रु सहायता कक्ष सञ्चालन र सवारीचालकको स्वास्थ्य जाँचलाई प्राथमिकता दिइनेछ ।

बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र नगद कारोबार हुने प्रतिष्ठानलाई सुरक्षा व्यवस्था चुस्त राख्न तथा सीसी क्यामेरा दुरुस्त अवस्थामा राख्नसमेत आग्रह गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

Skip This