राजमार्गका होटेलमा धमलाको अनुगमनः गुणस्तरहीन खाना खुवाउन नहुनेमा जोड


धादिङ । राजमार्ग आसपासका होटेलहरूमा यात्रुमाथि बासी र सडेगलेको खानेकुरा खुवाएर ठगी भइरहेको जनगुनासो बढेपछि स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमला आफैं मैदानमा उत्रिएका छन् । जनगुनासोको तत्काल सम्बोधन गर्दै धमलाले धादिङ र चितवनका राजमार्ग क्षेत्रमा सञ्चालित दर्जानौं होटेलहरूमा अनुगमन गरेका छन् ।

अभियानमा आएका लगातारका गुनासाहरूलाई गम्भीरताका साथ लिँदै अध्यक्ष धमलासहितका अभियन्ताहरूले राजमार्गका होटेलहरूको भान्सा, खानेकुराको गुणस्तर र सरसफाइको प्रत्यक्ष निरीक्षण गरेका थिए ।

अनुगमनका क्रममा अधिकांश होटेलहरूले यात्रुहरूलाई ताजा, स्वस्थ र गुणस्तरीय खाना खुवाइरहेको पाइएपछि अध्यक्ष धमलाले निकै खुसी व्यक्त गरे । होटेल सञ्चालकहरूले देखाएको उत्तरदायित्व र इमानदारीप्रति प्रसन्नता प्रकट गर्दै उनले राम्रो काम गर्ने होटेल सञ्चालकहरूको खुलेर प्रशंसा गरे । राजमार्गमा यात्रा गर्ने हजारौँ नागरिकलाई गुणस्तरीय र स्वस्थ खाना खुवाएर सेवा दिनु निकै सराहनीय कार्य हो, अनुगमनपछि खुसी साट्दै धमलाले भने, राम्रो काम गर्ने होटेलहरूलाई प्रोत्साहन र सम्मान गर्नुपर्छ ।

यद्यपि, अनुगमनकै क्रममा केही होटेलहरूले भने अझै पनि सर्वसाधारण यात्रुको स्वास्थ्यमाथि खेलबाड गर्दै बासी तथा गुणस्तरहीन खानेकुरा बिक्रीवितरण गरिरहेको फेला परेको थियो । त्यस्ता गैरजिम्मेवार होटेल सञ्चालकहरूलाई धमलासहितको टोलीले कडा शब्दमा चेतावनी दिँदै तत्काल सुधार गर्न सजग गराएको छ ।

गुणस्तरहीन खाना खुवाएर यात्रुको स्वास्थ्यमाथि खेलबाड गर्ने होटेलहरूलाई कानुनबमोजिम कडा कारबाही गर्न अभियानका तर्फबाट सम्बन्धित सरकारी निकाय र स्थानीय प्रशासनसमक्ष सिफारिससमेत गरिएको छ ।

अनुगमनपछि अध्यक्ष धमलाले भने, जनताको स्वास्थ्यभन्दा ठूलो कुरा अरू केही हुन सक्दैन । कुनै पनि बहानामा यात्रुहरूलाई बासी, सडेगलेको वा अस्वस्थकर खानेकुरा खुवाउने छुट कसैलाई छैन । हामी यो अभियानलाई देशभरका राजमार्गहरूमा अझ सशक्त रूपमा लैजान्छौँ ।

नागरिकको हित र स्वास्थ्य सुरक्षाका लागि स्वतन्त्र नागरिक अभियान निरन्तर पहरेदार बनेर खट्ने प्रतिबद्धतासमेत धमलाले व्यक्त गरेका छन् ।

Skip This