म्याग्दी । कालीगण्डकीको बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ।
विपद्का समयमा आकस्मिक रूपमा विद्युत् आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण गरिएको हो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा र वडा नं. ६ धिरच्याङमा प्रसारणलाइनका तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित १७६ मेगावाट विद्युत् असोज ११ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन।
नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रदेश ग्रिड शाखा पोखराका प्रमुख रोशन खड्काका अनुसार बाढीले ढलाएका तीनवटा टावरको विकल्पमा एउटा अस्थायी टावर बनाई तार तान्ने काम सकिएपछि शनिबार राति साढे १० बजे लाइन चार्ज गरिएको छ। खड्काले ‘नेपाल विद्युत् प्राधिकरण र कालीगण्डकी बेसिनमा रहेका जलविद्युत् आयोजनाका प्राविधिक जनशक्ति परिचालन गरेर बाढीले क्षति पुर्याएको २० दिनमै मर्मत गर्न सफल भएको’ बताएका छन्। यसका साथै उनले ‘यस क्षेत्रका सबै आयोजनाले उत्पादन गरेको विद्युत् खपत हुने वातावरण बनेको’ जानकारी दिए।
प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीका अनुसार क्षतिग्रस्त भएका तीनवटा टावरको विकल्पमा क्यानडा प्रविधिको एउटा अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गरिएको हो। बेनी–जोमसोम सडकको भिरकाटे खण्डदेखि पारि रहेको अन्नपूर्ण गाउँपालिका–१ दोबाको औलामा उक्त अस्थायी टावर निर्माण गरिएको छ।
कालीगण्डकी बेसिनमा रहेका जलविद्युत् आयोजनाहरू र महाशाखाका गरी २० जनाभन्दा बढी इन्जिनियर, उत्तिकै सङ्ख्यामा प्राविधिक र ५० जनाभन्दा बढी मजदुर पछिल्लो १५ दिनदेखि परिचालन भएका थिए। अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गरिसकिएकाले अब क्षतिग्रस्त टावरको पुनर्निर्माण प्रक्रिया पनि सँगसँगै अगाडि बढाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्रसारणलाइनको टावरमा क्षति पुगेपछि दाना–खुर्कोट प्रसारणलाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका ६ वटा आयोजना प्रभावित बनेका थिए। जसमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेका ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, ३८ मेगावाटको निलगिरी–१, ७१ मेगावाटको निलगिरी–२, ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना तथा मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको थियो।




प्रतिक्रिया