काठमाडौँ। पेरिससहित फ्रान्सका मुख्य सहरहरूमा महँगी र खस्कँदो सार्वजनिक सेवाविरुद्ध भएको विशाल प्रदर्शन हिंसात्मक बनेपछि फ्रान्सेली प्रशासन तथा राजनीतिक वृत्तमा ठूलो हलचल पैदा भएको छ। देशका धेरै सहरहरूमा स्थिति प्रहरीको नियन्त्रणभन्दा बाहिर गएपछि फ्रान्सका गृहमन्त्री लोरँ न्युनेजले स्थितिको गम्भीरता आकलन गर्न प्रशासन असफल भएको स्वीकार गरेका छन्।
गृहमन्त्री न्युनेजले पदबाट राजीनामा दिने प्रस्ताव गरे पनि राष्ट्रपति इमानुएल म्याक्रोनले त्यसलाई अस्वीकार गर्दै उनलाई पदमा निरन्तर रहन आग्रह गरेका छन्। म्याक्रोनले गृहमन्त्रीलाई सडक सुरक्षा पुनर्बहाली गर्न र शनिबार तथा आइतबार भएका हिंसात्मक घटनाका दोषीहरूलाई कानुनको दायरामा ल्याउन निर्देशन दिएका छन्।
आधुनिक फ्रान्सको इतिहासमा सार्वजनिक अशान्तिको यो सबैभन्दा गम्भीर मामिलामध्ये एक मानिएको छ। जीवनयापनको बढ्दो लागत (महँगी) र गुणस्तरीय सरकारी शिक्षासहितका सार्वजनिक सेवाको खराब अवस्थाको विरोधमा शनिबार पाँच लाखभन्दा बढी नागरिक सडकमा उत्रिएका थिए।
अधिकांश स्थानमा प्रदर्शन शान्तिपूर्ण रहे पनि कालो कपडा र मुख ढाकेका केही तोडफोडकारी समूह अगाडि बढेपछि स्थिति मुठभेडमा परिणत भएको थियो।
- व्यापारिक क्षति: प्रदर्शनका क्रममा करिब १ हजार ५ सय पसल तथा व्यवसायहरूमा लुटपाट र तोडफोड भएको अनुमान गरिएको छ।
- सुरक्षाकर्मी घाइते: दंगा नियन्त्रण प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुका साथै कतिपय ठाउँमा लाठीचार्ज गरेको थियो। फ्रान्सको गृह मन्त्रालयका अनुसार झडपमा करिब एक हजार प्रहरी घाइते भएका छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर छ।
गृहमन्त्री न्युनेजमाथि राजनीतिक विरोधी, ट्रेड युनियन र आम नागरिकहरूले पूर्वघोषित प्रदर्शनलाई नियन्त्रण गर्न पर्याप्त पूर्वतयारी र प्रहरी तैनाथी नगरेको आरोप लगाएका छन्। फ्रान्सेली संसद्को तल्लो सदनकी अध्यक्ष याएल ब्राउन-पिभेटले सम्पूर्ण घटनाको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गरेकी छन्।
आइतबार राति राजधानी पेरिसको तोडफोडग्रस्त क्षेत्रनजिकै एउटा भित्तामा रातो रंगले ‘उज्यालो सहरमा अँध्यारो छाएको छ’ लेखिएको भेटिएको थियो। स्मरणरहोस्, पेरिसलाई विश्वभर ‘उज्यालोको सहर’ (City of Light) भनेर चिनिन्छ।
स्थिति चर्किएपछि देशका केही भागमा कर्फ्यु वा संकटकाल लागू हुनसक्ने हल्ला चलेको थियो। तर, राष्ट्रपति म्याक्रोनले आइतबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रिय एकताको अपिल गरे र हिंसामा संलग्नहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाए।
यद्यपि, म्याक्रोनको सम्बोधनको फ्रान्सेली सञ्चारमाध्यम र ट्रेड युनियनहरूले कडा आलोचना गरेका छन्। फ्रान्सको प्रमुख ट्रेड युनियन ‘सीजीटी’की महासचिव सोफी बिनेले राष्ट्रपति म्याक्रोन विद्यार्थीका चिन्ता, महँगी र खस्कँदो सार्वजनिक सेवाका मुद्दा सम्बोधन गर्न पूर्णतः असफल भएको आरोप लगाइन्।
आगामी छ महिनाभित्र फ्रान्समा राष्ट्रपतीय निर्वाचन हुँदैछ। संसद ठप्पप्रायः रहेको र प्रमुख तीन राजनीतिक ध्रुवहरू सत्ताका लागि होडबाजीमा रहेकाले राजनीतिक तनाव सडकमा समेत पोखिएको छ।
आप्रवासीविरोधी दक्षिणपन्थी नेत्री मरीन ले पेन र पुँजीवादविरोधी वामपन्थी नेता ज्याँ–लुक मलोंशो जस्ता नेताहरू यो असन्तोषलाई आफ्नो पक्षमा पार्ने दाउमा छन्।
अर्कोतर्फ, लगानीकर्ताहरूले बढ्दो सार्वजनिक ऋण नियन्त्रण गर्न सरकारलाई निरन्तर दबाब दिइरहेका छन्। तर, जनकल्याणकारी योजना र बजेटमा कटौती गर्दा असन्तोष अझ चुलिने डरमा म्याक्रोन सरकार हतप्रभ बनेको छ।




प्रतिक्रिया