काठमाडौँ । बडादशैँका सुरुवाती दिनहरूमा प्रायः सुनसान बनेको काठमाडौँ उपत्यका विजयादशमीको दिन शुभसाइतमा टीका र जमरा ग्रहण गरेपछि विस्तारै आफ्नो पुरानै लयमा फर्किन थालेको छ। मान्यजन तथा आफन्तको हातबाट आशिष लिन निस्कने सर्वसाधारणको बढ्दो आवतजावतसँगै उपत्यकाका मुख्य सडक तथा चोकहरूमा सवारी साधनको चाप ह्वात्तै बढेको छ।
फूलपाती, महाअष्टमी र महानवमीका दिनहरूमा प्रायः रित्ता देखिने चक्रपथ र भित्री सडकहरूमा टीकाको साइतपश्चात् सार्वजनिक तथा निजी सवारी साधनको बाक्लो उपस्थिति देखिन थालेको छ। विशेषगरी सार्वजनिक यातायातमा यात्रा गर्नेहरूको भीडभाड बढेसँगै उपत्यकामा दशैँको रौनक र चहलपहल पुनः चुलिएको छ।
सडक अवस्थाबारे जानकारी दिँदै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यका भित्रिने प्रमुख नाकाहरूसहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारी साधनहरू सामान्य तथा सुचारु रूपमा सञ्चालन भइरहेको जनाएको छ ।
चाडपर्वका बेला हुन सक्ने सम्भावित दुर्घटना र सडक अस्तव्यस्ततालाई दृष्टिगत गरी ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन योजनाबद्ध रूपमा टोली परिचालन गरिएको छ। प्रहरीका अनुसार सम्भावित संवेदनशील क्षेत्रहरूमा निगरानी बढाउनुका साथै नियमित सवारी जाँचलाई थप कडा बनाइएको छ।
दशैँपछिको यो यात्रालाई सहज र सुरक्षित बनाउन प्रहरीले चालक तथा यात्रु दुवैलाई यातायात नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।




प्रतिक्रिया