काठमाडौँ । मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा देशका विभिन्न भू-भागमा वर्षा र हिमपातको सम्भावना औँल्याएको छ ।
बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका साथै पश्चिमी वायुको आंशिक प्रभावले मौसममा उल्लेख्य बदलाव आउने देखिएको हो। मौसमविद्का अनुसार साताको सुरु र मध्यतिर पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बङ्गालको खाडीमा निर्माण हुने न्यूनचापीय प्रणालीले व्यापक असर पार्नेछ।
हिमाली भू-भाग: भारी हिमपातको सम्भावना
साताको अन्त्यतिर कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने पूर्वानुमान छ। ती प्रदेशका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी हिमपात हुन सक्ने मौसमविद्ले जानकारी दिए। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मध्यम र एक-दुई स्थानमा भारी हिमपातको सम्भावना छ। साताको सुरु र मध्यमा भने हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात मात्र हुनेछ।
पहाडी भू-भाग: साताको अन्त्यमा भारी वर्षाको जोखिम
पहाडी भू-भागमा साताको सुरु र मध्यमा हल्का वर्षाको सम्भावना रहे पनि साताको अन्त्यमा मौसम थप प्रतिकूल बन्नेछ। साताको अन्त्यतिर पहाडी क्षेत्रका केही स्थानमा मध्यमसम्मको वर्षा हुनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको छ।
तराई भू-भाग र तापक्रमको अवस्था
तराई क्षेत्रमा साताको सुरु र मध्यतिर वर्षाको सम्भावना छैन। तर साताको अन्त्यमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पर्ने भू-भागका थोरै स्थान र कोशी, मधेस तथा लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।
मौसम प्रणालीमा आउने यस परिवर्तनका कारण आगामी साता देशका विभिन्न भू-भागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने मौसम विज्ञान विभागले जनाएको छ।




प्रतिक्रिया