पार्किन्सन र छारे रोगको अत्याधुनिक उपचार अब वीर अस्पतालमै


काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको न्युरोसर्जरी विभाग र अमेरिकास्थित कार्लिअन अस्पतालको सहकार्यमा जटिल स्नायुसम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष क्लिनिक तथा शल्यक्रिया कार्यक्रम आयोजना हुने भएको छ। स्नायु विज्ञान तथा न्युरोसर्जरीको क्षेत्रमा एक महत्त्वपूर्ण कदम मानिएको यो कार्यक्रम वीर अस्पतालमा सञ्चालन हुन लागेको तेस्रो विशेष सत्र हो।

अस्पतालद्वारा जारी विज्ञप्तिअनुसार यस कार्यक्रमबाट मुभमेन्ट डिसअर्डर (असामान्य चालसम्बन्धी विकार), पार्किन्सन रोग, डिस्टोनिया, औषधीको प्रयोगले पनि नियन्त्रणमा नआएका कडा खालका छारे रोग तथा मेरुदण्डसम्बन्धी जटिल समस्याबाट पीडित बिरामीहरू लाभान्वित हुनेछन्।

विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीहरूको विस्तृत प्रारम्भिक परीक्षण र क्लिनिकल मूल्यांकन गर्नेछ। मूल्यांकनपश्चात् शल्यक्रियाका लागि योग्य ठहरिएका बिरामीहरूलाई निम्न अत्याधुनिक प्रविधिमार्फत उपचार सेवा प्रदान गरिने अस्पतालले जनाएको छ:

  • डीप ब्रेन स्टिमुलेसन (DBS)
  • लेजनिङ (Lesioning)
  • स्पाइनल कर्ड स्टिमुलेसन
  • भेगस नर्भ स्टिमुलेसन

लामो समयदेखि यी जटिल स्वास्थ्य समस्याबाट पीडित बिरामीहरूका लागि स्वदेशमै अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ सेवा पाउनु ठूलो अवसर हो। यस विशेष क्लिनिकमा सहभागी हुन चाहने सम्बन्धित बिरामीहरूलाई समयमै अस्पतालको न्युरोसर्जरी विभागमा सम्पर्क गरी अपोइन्टमेन्ट लिन वीर अस्पतालले विशेष अनुरोध गरेको छ।