काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने परिवारसहित तीनदिने भारत भ्रमणमा गएका छन्। धार्मिक भ्रमणका लागि भारत प्रस्थान गरेका उनले यसपटक पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी कसैलाई पनि दिएका छैनन्।
लामिछानेको भ्रमण तालिकामा नैनीतालस्थित कैचीधामदेखि आसामको कामाख्या मन्दिरसम्मको यात्रा समावेश छ। निजी धार्मिक भ्रमण भएकाले कार्यवाहक सभापति नतोकिएको रास्वपाले जनाएको छ।
पार्टीका महामन्त्री विपिन आचार्यले लामिछानेको भ्रमण व्यक्तिगत प्रकृतिको भएकाले कार्यवाहक तोक्न आवश्यक नठानिएको बताएका छन्।
राजनीतिक दलका प्रमुख विदेश भ्रमणमा जाँदा पार्टीको नेतृत्व सञ्चालनका लागि कार्यवाहक जिम्मेवारी दिने अभ्यास छ। रास्वपामा पनि यसअघि लामिछानेले विभिन्न समयमा उपसभापतिलाई यस्तो जिम्मेवारी दिएका थिए।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहँदा उनले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएका थिए। त्यस्तै, २०८० माघमा भारत भ्रमणमा जाँदा उपसभापति डा. स्वर्णिम वाग्लेलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएका थिए।
तर, गत जेठमा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा जाँदा भने लामिछानेले कार्यवाहक सभापति तोकेका थिएनन्। यसपटकको भ्रमणमा पनि उनले सोही अभ्यासलाई निरन्तरता दिएका छन्।
लामिछाने भारतमा रहेका बेला उपसभापति डा. वाग्ले पनि भारत भ्रमणमै छन्। अर्की उपसभापति सोविता गौतम भने नेपालमै रहेकी छन्। यद्यपि, गौतमलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छैन।




प्रतिक्रिया