काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका प्रदेश र जिल्ला अधिवेशन सम्पन्न गर्ने बताएका छन्।
पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले केन्द्रीय समिति बैठकमा छलफल गरेर प्रदेश र जिल्लाको अधिवेशनको मिति तय गरिने बताए।
‘हामीले केही समयपछि प्रदेशको अधिवेशन गर्नुपर्ने छ, जिल्लाको अधिवेशन गर्नुपर्ने छ। अब केन्द्रको बैठक राखेर साथीहरूसँग सल्लाह गर्छु। स्थानीय चुनाव पनि आउँदै छ, त्यसलाई समेत ध्यानमा राखेर तिथिमिति तय गर्छौँ,’ उनले भने ।
अधिवेशनबाट नेतृत्व चयन गर्नुका साथै पार्टीले गरेका निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनले बताए। पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा भए पनि त्यसलाई आम निर्वाचनको जस्तो जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने प्रक्रियाका रूपमा लिन नहुने उनको भनाइ छ ।
उनले थपे, ‘पार्टीभित्र सबैले आफ्नो भूमिका र स्थान पाउनुपर्छ। केन्द्रीय समितिमा प्रतिस्पर्धाका कारण जिम्मेवारीबाट बाहिरिएका योग्य साथीहरूलाई समेत समेटेर अघि बढ्नुपर्नेछ। पार्टीभित्र त सबैले स्पेस पाउनुपर्छ। जित्नेले हस्तिनापुर पाएको जस्तो र हार्ने चाहिँ गयो भन्ने जस्तो होइन।’




प्रतिक्रिया