अर्थमन्त्री स्वर्णिम वाग्ले दिल्लीमा लम्पसार परे : अबुल हुसेन


काठमाडौं । नेकपा एमालेका नेता डा. अबुल हुसेन अन्सारीले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहत र बाढीमा बेपत्ता भएकाहरूको खोजीमा सरकारको उपस्थिति फितलो र फितलो देखिएको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता हुसेनले प्राकृतिक विपद्को यति ठूलो घटनामा पनि सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेको दाबी गरे। ‘बाढीमा बगेका शवहरू र बेपत्ता नागरिकको अवस्था के छ भन्नेबारे सरकारले अहिलेसम्म यकिन तथ्याङ्क भन्न सकेको छैन ।’

कार्यक्रममा हुसेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हालसम्म बाढीप्रभावित क्षेत्रमा नपुगेको भन्दै प्रश्न उठाए। विपद्को समयमा पनि प्रभावित क्षेत्रमा लामिछाने उपस्थित नहुनु गम्भीर समीक्षाको विषय बनेको हुसेनको भनाइ थियो।

हालै भारत भ्रमणका क्रममा अर्थमन्त्री बनेका स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिको समेत हुसेनले कडा शब्दमा आलोचना गरे। वाग्लेले दिल्लीमा पुगेर आत्मसमर्पणवादी नीति देखाएको आरोप लगाउँदै उनले भने, ‘सीमापारिबाट एक किलो आलु वा प्याज ल्याउँदा सर्वसाधारण नेपाली जनताले कुटाइ खानुपर्ने अवस्था छ, यस्तो बेला गृहमन्त्री र अर्थमन्त्री मौन बस्छन्। तर दिल्ली पुगेपछि अर्थमन्त्री स्वयं लम्पसार पर्छन्।’

भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो भन्ने अर्थमन्त्रीको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले बालेन सरकारको वैदेशिक नीतिको आलोचना गरे।

यस्तै, बालेन सरकार बनेको सात महिना पूरा भइसक्दा पनि मुलुकमा कुनै पनि बहुराष्ट्रिय कम्पनी वा वैदेशिक लगानीकर्ता भित्रिन नसकेको दाबी हुसेनले गरे। लगानीमैत्री वातावरण बनाउन सरकार पूर्णतः असफल भएको उनको आरोप थियो।

हालै नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका डा. हुसेनले कांग्रेसभित्र काम गर्ने र योग्य व्यक्तिको कदर हुन छाडेको बताए। ‘कांग्रेसभित्र अहिले जसको लाठी उसैको भैँसी भन्ने प्रवृत्ति हाबी भएको छ,’ कांग्रेस छाड्नुको कारण खुलाउँदै उनले थपे, ‘मजस्ता थुप्रै निष्ठावान् साथीहरू विचलित भएर पार्टी छाड्न बाध्य भइरहेका छन्।’

यसैबीच, आगामी स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।