काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माले आज नियुक्तिपत्र बुझेकी छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलको प्रस्तावमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
नियुक्तिको समाचार सार्वजनिक भएसँगै आनि छोइङ डोल्माको नागरिकता, शैक्षिक योग्यता तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई लिएर विभिन्न प्रश्न उठाइएका छन्। उनको नियुक्तिलाई लिएर अहिले राजनीतिक वृत्तमासमेत चर्चा भइरहेको छ ।
यसैबीच, मंगलबार प्रधानमन्त्री बालेन शाहसँग भेट गरेलगत्तै उनले नियुक्तिपत्र बुझेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी चाँडै लुम्बिनी जाने तयारीमा रहेकी छन् ।
स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा आनि छोइङ डोल्माले आफूलाई विवादमा पर्ने गरी जिम्मेवारी दिइएको भन्दै गुनासो गरेकी थिइन्। उनको गुनासो सुनेपछि प्रधानमन्त्री शाहले `गौतम बुद्धले जत्ति दुःख त भोग्नुपरेको छैननी´ भन्दै गर्दै ढुक्क भएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेको स्रोतको दाबी छ।
प्रधानमन्त्रीले आफ्नो काममा पूर्ण समर्थन रहने प्रतिबद्धतासमेत जनाएको स्रोतले बताएको छ।
त्यस्तै, लुम्बिनी विकास कोषमा रिक्त रहेका अन्य सदस्य पदमा समेत नियुक्ति गरेर कोषलाई पूर्णता दिने तयारीमा सरकार रहेको स्रोतको भनाइ छ।




प्रतिक्रिया