उद्योगहरूलाई विभागको निर्देशन : नदीमा फोहोर पानी नमिसाउनु


काठमाडौँ। उद्योग विभागले नदी तथा खोलाहरूमा फोहोर पानी प्रशोधन नगरी सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ।

दीपावली तथा छठ पर्वको समयमा वीरगञ्ज–पथलैया करिडोरको सिर्सिया नदी आसपासका उद्योगहरूले निष्कासन गरेको प्रदूषित पानीका कारण स्थानीय बासिन्दालाई चाडपर्व मनाउन समेत कठिनाइ भएको गुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो।

विभागले शुक्रबार जारी गरेको सूचनामा उद्योगहरूबाट निष्कासन हुने फोहोर पानी नेपाल सरकारले तोकेको वातावरणीय मापदण्ड अनुरूप प्रशोधन गरेर मात्र बाहिर पठाउने व्यवस्था मिलाउन भनिएको छ।