समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्न खोजिएको भन्दै मिडिया लयर्स एसोसिएसनको आपत्ति


काठमाडौं । समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने तथा प्रहरी कार्यालयमा उपस्थित हुन दबाब दिने कार्यप्रति मिडिया लयर्स एसोसिएसनले आपत्ति जनाएको छ। एसोसिएसनले यस्ता गतिविधि संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भएको भन्दै तत्काल रोक्न सरकारसँग माग गरेको छ।

एसोसिएसनका अध्यक्ष अधिवक्ता बाबुराम अर्यालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल प्रेस, दियो पोस्ट, नयाँ पत्रिका दैनिक र डीएनए खबरलगायत सञ्चारगृहमा सादा पोसाकका प्रहरी प्रवेश गरी पक्राउ पुर्जीबिनै पत्रकारमाथि धरपकड गर्ने तथा प्रहरी कार्यालयमा उपस्थित हुन दबाब दिने कार्य भएको उल्लेख गरेका छन्।

संविधानको धारा १९(१) ले कुनै पनि माध्यमबाट समाचार, लेख, सम्पादकीय तथा अन्य सामग्री प्रकाशन वा प्रसारण गर्न पूर्वप्रतिबन्ध लगाउन नपाइने व्यवस्था गरेको स्मरण गराउँदै एसोसिएसनले समाचार लेख्नु अपराध नभएको स्पष्ट पारेको छ। कुनै समाचारको विषयवस्तु वा प्रकाशनबारे कानुनी प्रश्न उठे प्रचलित कानुन र प्रक्रियाअनुसार निरूपण हुनुपर्ने उसको भनाइ छ।

‘समाचार लेख्नु अपराध होइन र पत्रकारिता गर्नु राज्यविरुद्धको कसुर होइन,’ विज्ञप्तिमा भनिएको छ।

पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्ने, सञ्चारगृहमा प्रहरी प्रवेश गराउने र धम्कीपूर्ण दबाब सिर्जना गर्ने गतिविधिले समग्र प्रेस जगत्लाई भयभीत बनाउने एसोसिएसनको ठहर छ। कानुन कार्यान्वयन गर्ने निकाय स्वयंले कानुनी अधिकार र प्रक्रियाको सीमा उल्लङ्घन गर्दै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु स्वीकार्य नहुने भन्दै उसले पत्रकारमाथिका गैरकानुनी गतिविधि तत्काल रोक्न र आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न सरकार तथा सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।