काठमाडौं। वाणिज्य बैंकहरूमा जस्तै राष्ट्रिय स्तरका विकास बैंकहरूको वित्तीय स्थितिमा पनि उल्लेखनीय सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्त) सम्मको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका ८ वटा विकास बैंकहरूले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यी बैंकहरूले कुल ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ मात्र मुनाफा कमाएका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा विकास बैंकहरूको समग्र नाफा ११३.२३ प्रतिशतले बढेको हो।
चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने सूचीमा लुम्बिनी विकास बैंक अगाडि देखिएको छ। अघिल्लो वर्षको असोज मसान्तसम्म ३४ करोड ८५ लाख रुपैयाँभन्दा बढी घाटामा रहेको यो बैंकले यसपटक लोभलाग्दो प्रगति गर्दै ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
त्यस्तै, मुक्तिनाथ विकास बैंक ३२ करोड २४ लाख २४ हजार रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ। मुक्तिनाथको नाफा गत वर्षको (२२ करोड ४७ लाख रुपैयाँ) तुलनामा ४३.४४ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक गतिविधिको सुस्तताका बाबजुद अधिकांश विकास बैंकहरूले आफ्नो नाफा बढाएका छन् भने केही बैंकको नाफामा भने संकुचन आएको छ।
- उच्च वृद्धि हासिल गर्ने बैंकहरू: ज्योति विकास बैंकले नाफामा उच्च वृद्धि दर्ता गरेको छ। बैंकले गत वर्षको ७ करोड ३ लाख रुपैयाँबाट नाफा बढाएर २० करोड १ लाख ६१ हजार रुपैयाँ पुर्याएको छ। त्यस्तै महालक्ष्मी विकास बैंकको नाफा २१.४९ प्रतिशतले बढेर ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ र कामना सेवा विकास बैंकको नाफा १६.९९ प्रतिशतले बढेर २३ करोड ११ लाख ५५ हजार रुपैयाँ पुगेको छ।
- नाफा घटेका बैंकहरू: गरिमा विकास बैंकको खुद नाफा ४.१७ प्रतिशतले घटेर २४ करोड १ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा पनि २.६६ प्रतिशतले घटेर १९ करोड ७६ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।
- सांग्रिलाको नाफामा उच्च गिरावट: सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा भने उल्लेख्य गिरावट आएको छ। गत वर्ष सोही अवधिमा ८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको सांग्रिलाले यस वर्ष ३ करोड ३४ लाख ६१ हजार रुपैयाँ मात्र नाफा कमाएको छ।
बैकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र खराब कर्जा असुलीमा सुधार आएको जनाइएको छ।




प्रतिक्रिया