काठमाडौं, १६ कात्तिक । प्रतिपक्षी दलहरूले सरकारलाई यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले जनताका समस्या, राष्ट्रियता, लोकतन्त्र र संविधानसँग जोडिएका विषयमा गम्भीर छलफल गर्न संसद् बैठक तत्काल बोलाउनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले प्रतिपक्षी दलहरूका तर्फबाट सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार संसद् बैठकमार्फत जनताका दैनिक समस्या, राष्ट्रियताका सवाल, लोकतन्त्र तथा संविधानमाथि उठेका विभिन्न प्रश्नबारे गम्भीर बहस र छलफल गर्नुपर्ने आवश्यकता बैठकले औँल्याएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि विस्तृत छलफल भएको नेता हमालले बताए । नेपालको राजनीतिक वृत्तमा विभिन्न गम्भीर समस्या देखिएको निष्कर्ष बैठकले निकालेको उनको भनाइ थियो ।
त्यसैगरी, राष्ट्रियतासँग सम्बन्धित विषयमा समेत गम्भीर प्रश्नहरू उठेको भन्दै बैठकमा जनजीविकाका सवाल, विपद्बाट प्रभावित नागरिकको समस्या, राहत तथा पुनर्निर्माणका विषयमा छलफल गरिएको उनले जानकारी दिए ।




प्रतिक्रिया