एमाले महासचिव पोखरेलको आरोप: सरकारका गतिविधिले लोकतन्त्र र संविधान कमजोर बनाउँदै लगे


रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र राज्यका संवैधानिक निकायहरूलाई कमजोर बनाउँदै लगेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले उच्च जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफ्नो भूमिका निर्वाह गर्दा अत्यन्त संयमित र उत्तरदायी हुनुपर्नेमा जोड दिए । तर, सामाजिक सञ्जालमा भइरहेका गतिविधिले राज्यको गम्भीर जिम्मेवारीलाई बालबालिकाले खेल्ने भाँडाकुटीजस्तो बनाइएको उनको टिप्पणी थियो ।

इनाम सापकोटालाई लक्षित गर्दै पोखरेलले निर्वाचन प्रचारका क्रममा प्रधानमन्त्रीसँगै रहेर चुनाव जिताउने अभियानमा सक्रिय एक चर्चित पात्रको भूमिकालाई लिएर प्रश्न उठाए । प्रधानमन्त्रीबाटै समाजका विभिन्न अङ्गलाई प्रभावित पार्न वा नियन्त्रण गर्न परिचालन गर्न खोजिएको हो कि भन्ने आशङ्का उत्पन्न भएको उनले बताए ।

महासचिव पोखरेलले वर्तमान सरकारका गतिविधिप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सन्तुष्ट नरहेको दाबी गरे ।

जनताले ठूलो अपेक्षासहित दिएको जनादेशअनुसार देश अघि बढ्न नसकेको र परिस्थिति नकारात्मक दिशातर्फ उन्मुख भएको उनको भनाइ थियो ।