नेपाल घुम्न आउने विदेशीमा अमेरिकीको संख्या सबैभन्दा धेरै


काठमाडौं । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सूचीमा अमेरिकाले भारतलाई उछिनेको छ। सन् २०२६ को अक्टोबर महिनामा सबैभन्दा धेरै अमेरिकी पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा १७ हजार ४३७ अमेरिकी नागरिक नेपाल भ्रमणमा आएका छन्। जबकि भारतबाट १२ हजार ९७ पर्यटक मात्र आएका छन्। गत वर्षको सोही महिनामा भारतबाट १७ हजार २९८ र अमेरिकाबाट १३ हजार २८६ पर्यटक आएका थिए।

अक्टोबरमा चीनबाट ११ हजार ६९५, बेलायतबाट ९ हजार ३८५ र अस्ट्रेलियाबाट ९ हजार ३५२ पर्यटक नेपाल आएका छन्। त्यस्तै जर्मनी, श्रीलंका, बंगलादेश, फ्रान्स र म्यानमारबाट पनि उल्लेख्य संख्यामा पर्यटक भित्रिएका छन्।

यसैबीच, भारतीय पर्यटकको आगमन घटेसँगै सार्क क्षेत्रबाट आउने पर्यटकको संख्या पनि १७.२ प्रतिशतले घटेको छ। गत वर्ष अक्टोबरमा सार्क क्षेत्रबाट २९ हजार ६० पर्यटक आएकोमा यस वर्ष २४ हजार ५३ मा सीमित भएको छ।

यता युरोपेली तथा अमेरिकी मुलुकबाट आउने पर्यटकको संख्या बढेको छ। अक्टोबरमा युरोपबाट ३९ हजार ८७७ र अमेरिकी मुलुकबाट २१ हजार २७० पर्यटक नेपाल आएका छन्।

समग्रमा अक्टोबरमा १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो गत वर्षको सोही महिनाको तुलनामा ३.४ प्रतिशत बढी हो।