काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको कार्यालयमा आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी उक्त जिम्मेवारीमा कार्कीलाई खटाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले कार्कीमाथि कुनै कारबाही नगरिएको दाबी गरेका छन् । उनका अनुसार वर्तमान विशेष परिस्थितिमा मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी परामर्श र सल्लाह दिन नयाँ पद सिर्जना गरिएको हो ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ ।
कार्कीलाई किन जिम्मेवारीबाट हटाइएको भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता पोखरेलले यो कारबाही नभई जिम्मेवारी हेरफेर मात्र भएको बताएका छन् ।




प्रतिक्रिया