काठमाडौं । डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन् । १८ कात्तिक २०८३ मा बसेकाे मन्त्रीपरिषद्काे बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेकाे हाे । उनी अपराध अनुसन्धानमा विशेष पहिचान बनाएका प्रहरी अधिकृत हुन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणको अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गरेपछि उनी राष्ट्रिय चर्चामा आएका थिए।
त्यही चर्चित अनुसन्धानदेखि संगठित अपराध, वित्तीय ठगी र सरकारी सम्पत्तिको दुरुपयोगसम्मका विभिन्न प्रकरणको अनुसन्धानमा संलग्न केसीले बुधबारदेखि नेपाल प्रहरीको सर्वोच्च नेतृत्व सम्हालेका छन्।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एआईजी केसीलाई आईजीपीमा बढुवा गरेको हो। सरकारले तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई प्रहरी संगठनको नेतृत्व दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट राष्ट्रिय चर्चा
केसीको प्रहरी करियरमा सबैभन्दा बढी चर्चा पाएको काम नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहविरुद्धको अनुसन्धानलाई अगाडि बढाएका थिए।
यस प्रकरणमा तत्कालीन मन्त्री, सचिव तथा उच्च पदस्थ व्यक्तिहरूसमेत जोडिएपछि घटनाले राष्ट्रिय राजनीतिमा ठूलो चर्चा पाएको थियो। अनुसन्धानका क्रममा प्रभावशाली व्यक्तिहरूको नाम सार्वजनिक हुनु र उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढ्नुले केसीको चर्चा थप चुलिएको थियो।
उक्त प्रकरणको अनुसन्धानमा केसीले प्रारम्भिक नेतृत्व गरेका थिए भने त्यससम्बन्धी मुद्दाको अनुसन्धान तथा अभियोजन प्रक्रियामा अहिले पूर्वआईजीपी बनेका दानबहादुर कार्कीको पनि भूमिका रहेको थियो।
अन्य चर्चित अपराध अनुसन्धानमा पनि नेतृत्व
केसीको अनुभव नक्कली भुटानी शरणार्थी प्रकरणमा मात्रै सीमित छैन। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहँदा उनले विभिन्न जटिल तथा संगठित अपराधको अनुसन्धानमा नेतृत्व गरेका थिए।
उनको नेतृत्वमा अनुसन्धान भएका प्रमुख प्रकरणहरूमा:
- पर्यटकीय क्षेत्रमा हुने नक्कली हवाई उद्धार (फेक रेस्क्यु) ठगी।
- स्मार्ट टेलिकममा भएको आर्थिक अनियमितता तथा ठगी।
- धितोपत्र तथा बिमा क्षेत्रसँग सम्बन्धित ठगी।
- क्रिप्टोकरेन्सीसम्बन्धी अपराध।
- सरकारी जग्गा अतिक्रमण तथा हिनामिनासम्बन्धी अनुसन्धान।
त्यस्तै, उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, सीआईबी, अपराध अनुसन्धान विभाग र रुपन्देही जिल्ला प्रहरी कार्यालयलगायत विभिन्न निकायको नेतृत्व सम्हालेका छन्।
एटिसी बन्ने सपना देखेका केसी कसरी प्रहरी सेवामा आए ?
२०३२ साउन २८ गते नुवाकोटको तुप्चेमा जन्मिएका केसीको बाल्यकाल सामान्य मध्यमवर्गीय परिवारमा बित्यो। गाउँमै प्रारम्भिक शिक्षा पूरा गरेका उनी माध्यमिक तहको अध्ययनका लागि काठमाडौं आएका थिए।
उनले काठमाडौंको सिद्धार्थ बनस्थली विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि अमृत साइन्स क्याम्पस (अस्कल) मा भौतिक विज्ञान अध्ययन गरे।
उनको रुचि हवाई क्षेत्र र एरोनोटिकल इन्जिनियरिङमा थियो। उनले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को तालिमसमेत लिएका थिए। तालिमपछि यही क्षेत्रमा करियर बनाउने सोचमा रहेका केसीको जीवनले भने अर्कै मोड लियो।
नेपाल प्रहरीले प्रहरी निरीक्षक पदमा भर्ना खुलाएको सूचना देखेपछि उनले परीक्षा दिने निर्णय गरे। कुनै अतिरिक्त ट्युसन नलिई परीक्षा दिएका केसी सफल भए। २०५४ चैत २८ गते उनी प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरी सेवामा प्रवेश गरे।
शैक्षिक योग्यता र प्रहरी संगठन सुधारमा योगदान
केसी अनुसन्धानमा मात्रै होइन, शैक्षिक तथा संस्थागत विकासमा पनि सक्रिय प्रहरी अधिकृतका रूपमा चिनिन्छन्।
उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। सोही विश्वविद्यालयबाट व्यवहारिक द्वन्द्व रूपान्तरणमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र जनप्रशासनमा समेत स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
नेपाल प्रहरीमा पहिलोपटक सञ्चालन गरिएको स्टाफ कलेजका संस्थापक निर्देशकसमेत रहेका केसीले प्रहरी एकेडेमीमा रहँदा प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणमा योगदान दिएका थिए।
उनले प्रहरी सेवासम्बन्धी दुई पुस्तकसमेत लेखेका छन्।
प्रहरी सेवामा लामो अनुभव
केसी २०५४ चैत २८ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए। त्यसपछि उनले विभिन्न जिम्मेवारी सम्हाल्दै क्रमशः बढुवा हुँदै प्रहरी संगठनको नेतृत्वसम्मको यात्रा तय गरेका छन्।
उनको बढुवाक्रम यस्तो छ :
- २०६६ मंसिर २६ गते : डीएसपी
- २०७४ साउन १९ गते : एसपी
- २०७९ साउन ३ गते : एसएसपी
- २०८१ जेठ १३ गते : डीआईजी
- २०८२ वैशाख ११ गते : एआईजी
- २०८३ कात्तिक १८ गते : आईजीपी
उनले जिल्ला प्रहरी कार्यालय, अपराध अनुसन्धान कार्यालय, सीआईबी, विशेष ब्युरो, प्रहरी एकेडेमी र अपराध अनुसन्धान विभागमा काम गरेको अनुभव हासिल गरेका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा समेत सुरक्षा अधिकृतका रूपमा काम गरेका केसी फ्रान्सेली र स्पेनी भाषामा पनि दख्खल राख्छन्।
तेस्रो वरीयताबाट प्रहरी संगठनको सर्वोच्च पदमा
केसी र निवर्तमान आईजीपी दानबहादुर कार्की एउटै ब्याचका प्रहरी अधिकृत हुन्। दुवै २०५४ चैत २८ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए।
एआईजीमा बढुवा हुँदा केसी वरीयताक्रमको तेस्रो स्थानमा थिए। पहिलो नम्बरमा दानबहादुर कार्की र दोस्रो नम्बरमा राजन अधिकारी थिए।
सरकारले पहिलो र दोस्रो वरीयताका अधिकारीलाई पछि पार्दै केसीलाई आईजीपी नियुक्त गरेको छ। यससँगै उनले लामो प्रहरी सेवापछि संगठनको सर्वोच्च नेतृत्व सम्हाल्ने अवसर पाएका छन्।
अपराध अनुसन्धानमा देखाएको सक्रियता, चर्चित ठगी प्रकरणको अनुसन्धान, प्रहरी शिक्षण प्रणालीको विकासमा योगदान र अन्तर्राष्ट्रिय शान्ति मिसनको अनुभव केसीको व्यावसायिक यात्राका महत्वपूर्ण पक्ष हुन्।
अब उनका अगाडि प्रहरी संगठनको संस्थागत सुधार, अनुसन्धानलाई प्रभावकारी बनाउने, प्रहरीमाथि जनविश्वास कायम राख्ने र कानुन कार्यान्वयनमा निष्पक्षता सुनिश्चित गर्ने महत्वपूर्ण जिम्मेवारी छ।




प्रतिक्रिया