१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
बैठकमा आईजीपी परिवर्तन, इनम सापकोटाको अडियो प्रकरणलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एक नेताले जानकारी दिए।
इनमको सार्वजनिक अडियोमा सभापति गगन थापाले पार्टीको वैधानिकता प्राप्त गर्न १८ करोड रुपैयाँ खर्च गरेको प्रसंग उल्लेख भएपछि कांग्रेसले यसलाई सरकारको षड्यन्त्र भन्दै आएको छ।
त्यस्तै, प्रेस तथा न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप र पत्रकारमाथिको धरपकडलगायत विषयमा सरकारविरुद्ध राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने रणनीतिबारे पनि छलफल हुन सक्ने बताइएको छ।
महामन्त्री डा. डिला संग्रौलाले बैठक औपचारिक नभई समसामयिक विषयमा अनौपचारिक छलफलका लागि बोलाइएको जानकारी दिइन्।
यस्तै, सहमहामन्त्री मनोजमणि आचार्यका अनुसार पार्टीका जिल्ला तथा प्रदेश अधिवेशन हुन बाँकी रहेकाले संगठनात्मक विषयमा पनि छलफल हुनेछ।




प्रतिक्रिया