काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणबारेमा प्रष्टीकरण दिएका छन् । आज एक भिडियो सार्वजनिक गर्दै उनले आफू कुनै पनि गलत र अनैतिक काममा संलग्न नरहेको स्पष्ट पारेका हुन्।
प्रहरी हिरासतमा रहेका ‘फिक्सर’ इनम सापकोटाको भनिएको अडिओमा आफ्नो नाम जोडिएको विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्ना हातहरू सफा रहेको बताए।
थापाले पार्टीको आधिकारिकता तथा आन्तरिक रूपान्तरणको लडाइँ कार्यकर्ताहरूको विद्रोह भएको उल्लेख गर्दै यसमा कुनै आर्थिक लेनदेन नभएको बताए ।
उनले भने,‘विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? करोडको कुरा गर्छन् । पार्टीको आधिकारिकताको राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन ।’
अडियो कसले, कहिले र किन रेकर्ड गर्यो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै उनले प्रहरी हिरासतमा रहेका व्यक्तिसँगै निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे।
‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो वा बोलाइयो, त्यो अनुसन्धानको विषय हो । अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ,’ उनले भने ।




प्रतिक्रिया