काठमाडौँ । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय सडक तथा पुलहरूको पुनर्निर्माणका लागि करिब १० अर्ब रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको रकम पूर्वाधार विकास मन्त्रालयलाई उपलब्ध गराउने विषयमा छलफल भइरहेको हो ।
प्रतिनिधिसभाको विशेष समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेट सीमाभित्रै रहेर पुनर्निर्माणका काम तत्काल अघि बढाउन उद्धार कोषको मौज्दात रकम परिचालन गर्नेबारे छलफल भइरहेको जानकारी दिएका छन् ।
चालु आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ । उक्त सीमा नाघेर खर्च गर्नुपरे पूरक बजेट ल्याउनुपर्ने कानुनी जटिलता रहेकाले सरकारले वैकल्पिक स्रोतका रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम प्रयोग गर्ने रणनीति बनाएको हो ।
पूर्वाधार विकास मन्त्रालयले बहुवर्षीय ठेक्का आह्वान गरी पुनर्निर्माण प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था मिलाउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको अर्थमन्त्री वाग्लेले बताएका छन् ।
यसबाट निर्माण व्यवसायीलाई आवश्यक मोबिलाइजेसन पेस्की उपलब्ध गराउन सहज हुने र बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण कार्य अघि बढाउन सकिने सरकारको तयारी छ ।




प्रतिक्रिया