काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) पदका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्। संक्षिप्त सूचीमा पूर्वमन्त्री श्रद्धा श्रेष्ठसहित १६ जना समेटिएका हुन्। उनी ‘जेन-जी’ सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेकी थिइन् ।
मन्त्री बन्नुअघि उनी नेपाल पर्यटन बोर्डको वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत थिइन्।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार प्राप्त आवेदन र उम्मेदवारहरूको मूल्याङ्कनका आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा राखिएको बोर्डले जनाएको छ।
बोर्डको छनोट उपसमितिले सार्वजनिक गरेको सूचीअनुसार संक्षिप्त सूचीमा पर्नेहरूमा श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), आशुतोष प्रधान (चितवन), उत्तमप्रसाद देवकोटा (चितवन), टेकबहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं) र राजाराम केसी (काठमाडौं) रहेका छन्।
त्यस्तै रामचन्द्र सेढाई (गोरखा), रोहिणीप्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रीप्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा (काठमाडौं), सुरेश सिंह बुढाल (बैतडी) र हिममत सिंह ऐर (कञ्चनपुर) पनि संक्षिप्त सूचीमा परेका छन्।
बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूले आगामी २०८३ मंसिर १० गते बिहान ८ बजेर १५ मिनेटमा व्यावसायिक प्रस्तुतीकरण दिनुपर्नेछ।
प्रस्तुतीकरणका क्रममा उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यता तथा अनुभवसम्बन्धी सम्पूर्ण आवश्यक कागजातसहित नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुनुपर्ने बोर्डले जनाएको छ।
कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस प्रक्रियालाई अगाडि बढाउने क्रममा बोर्डले आवेदनको मूल्याङ्कनपछि संक्षिप्त सूची सार्वजनिक गरेको हो। अब व्यावसायिक प्रस्तुतीकरण तथा छनोट प्रक्रियापछि कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गरिनेछ।





प्रतिक्रिया