कैलाली । सरकारको राजीनामा माग्दै प्रतिपक्षी सांसदहरूले सदनमा नाराबाजी गरेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ।
करिब एक महिनापछि शनिबार बसेको बैठक बजेटप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोध गरेपछि नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो।
कांग्रेस सांसद विक्रम धामीले बजेट अपुरो, अधुरो र अपर्याप्त रहेको भन्दै सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे।
उनले सदनमा भने, ‘सभामुख र स्वयं अर्थमन्त्रीबाट समेत बजेट गलत भएको आशय व्यक्त हुँदा सरकारले राजीनामा दिनुपर्छ।’
त्यसपछि प्रतिपक्षी सांसदहरूले ‘असफल सरकार, राजीनामा दे’ लगायतका नारा लगाउँदै विरोध गरेका थिए।
सभामुखले सुरुमा बैठक आधा घण्टाका लागि स्थगित गरे पनि पछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।




प्रतिक्रिया