काठमाडौँ । नेपाली कांग्रेस (देउवा पक्ष)का युवा नेता भूपेन्द्रजंग शाहीले बिचौलिया प्रकरणको निष्पक्ष छानबिन नभएसम्म कांग्रेस सभापति गगन थापालाई पदबाट अलग हुन सुझाव दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कांग्रेस (देउवा पक्ष) का नेता शाहीले १८ करोडको सेटिङ र बिचौलिया इनम सापकोटासँग जोडिएको विषयको छानबिन नसकिउन्जेल थापाले कार्यवाहक सभापति विश्वप्रकाश शर्मालाई जिम्मेवारी सुम्पिनुपर्ने जिकिर गरे ।
‘बिचौलिया इनम प्रकरणमा संलग्न न्यायाधीशले पनि राजीनामा दिनुपर्छ, छानबिन नसकिउन्जेल उहाँ इजलासमा बस्न मिल्दैन ।’
निर्वाचन आयोग र न्यायपालिकाको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै उनले निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा रातारात पार्टीको नेतृत्व फेरबदल हुनु रहस्यमय रहेको बताए । ‘इनम सापकोटाको बयानपछि निर्वाचन आयोगले कसरी रातारात गगन पक्षलाई पार्टी दिएको रहेछ भन्ने स्पष्ट भएको छ,’ शाहीले भने । यसमा छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्छ ।’
पार्टीभित्र देखिएको विभाजन र गुट–उपगुटप्रति दुःख व्यक्त गर्दै उनले कांग्रेसलाई माया गर्ने नागरिकहरू पार्टी एक भएको हेर्न चाहने बताए । ‘रुख र चार तारे झण्डाको मुनि सबै कांग्रेसजन हुनुपर्छ भन्दाभन्दै एकथरीले महाधिवेशन गरिसके भने हामी (देउवा पक्ष) पनि महाधिवेशनको तयारीमा छौँ,’ उनले भने, ‘सबैले आ–आफ्ना हठ त्याग्न सके कांग्रेस अझै एक भएर जानेछ ।’
सरकारले गगन थापालाई पक्राउ गर्न लागेको भन्ने चर्चाको सन्दर्भमा नेता शाहीले त्यो भ्रमको खेती मात्र भएको दाबी गरे । कांग्रेस नेता उदयशमशेर राणाले पहिलोपटक उक्त हल्ला चलाएको उल्लेख गर्दै उनले जनतालाई बेकुब बनाउन थापा पक्षले आफैँ यस्तो भ्रम फैलाएको आरोप लगाए ।
राजनीतिक नैतिकतामाथि प्रश्न उठाउँदै उनले थपे, ‘केपी ओलीको अनुहार हेर्दिनँ भन्ने गगन थापा १८ करोडको काण्ड आएपछि ओलीलाई भेट्न गुण्डु पुगे । थापाले प्रदेश सरकार टिकाउन कम्युनिष्टसँग सहकार्य गर्दिनँ भन्नुहुन्थ्यो, फेरि त्यही सरकार टिकाउन किन ओलीलाई भेट्न जानुभएको हो ? तर केपी ओलीले गगन थापालाई विश्वास गर्नुभएन ।’
नेता शाहीले गगन थापालाई प्रश्न गर्नै नपाउने र उनी नै लोकतन्त्र तथा प्रजातन्त्रको पर्याय हुन् भन्ने खालको गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसतर्फ सचेत बन्न आग्रह गरे ।




प्रतिक्रिया