ताप्लेजुङ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न पछिल्लो समय भक्तजनको घुइँचो लाग्न थालेको छ। नेपालका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत दैनिक हजारौँको सङ्ख्यामा तीर्थालु ताप्लेजुङ पुगिरहेका छन्। दर्शनार्थीको सङ्ख्या बढ्दै गएपछि उनीहरूले पाथीभरा मन्दिरसम्म सहज रूपमा पुग्ने व्यवस्था मिलाउन निर्माणाधीन केबलकार परियोजनाको काम छिटो सम्पन्न गर्न माग गरेका छन्।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार दशैँयता दैनिक १० हजारभन्दा बढी भक्तजनले मन्दिरमा पुगेर दर्शन गरिरहेका छन्। गत मंगलबार यस वर्षकै सबैभन्दा बढी करिब ११ हजार दर्शनार्थी पाथीभरा पुगेका थिए।
लामो यात्रा गरेर पाथीभरा पुग्ने तीर्थालुले तल्लोफेदीबाट उकालो यात्रा सुरु गरी ठूलोफेदी हुँदै मन्दिरसम्म पुग्नुपर्ने बाध्यता छ। कठिन पदमार्गका कारण युवा तथा स्वस्थ व्यक्तिलाई तुलनात्मक रूपमा सहज भए पनि वृद्धवृद्धा, बालबालिका र अशक्त व्यक्तिले निकै सास्ती खेप्नुपरेको भक्तजनको भनाइ छ।
पदमार्गमा भेटिएका अधिकांश तीर्थालुले केबलकार निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै सबै उमेर समूहका भक्तजनले सहज रूपमा देवीको दर्शन गर्न पाउने वातावरण बनाउन आग्रह गरेका छन्। केबलकार सञ्चालनमा आए भक्तजनको सङ्ख्या थप बढ्ने र ताप्लेजुङसहित समग्र क्षेत्रको आर्थिक तथा पर्यटकीय विकासमा योगदान पुग्ने उनीहरूको विश्वास छ।
पाथीभरा देवी दर्शन प्रालिले अघि बढाएको केबलकार परियोजनाको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताइएको छ। तर तत्कालीन स्थानीय प्रशासनको मौखिक आदेशपछि निर्माण कार्य रोकिएको छ। रोकिएको काम कहिलेबाट पुनः सुरु हुन्छ भन्नेबारे आयोजनाले स्पष्ट जानकारी दिएको छैन।
तीर्थालु तथा स्थानीयवासीले पाथीभरा दर्शनका साथै कञ्चनजङ्घा हिमशृङ्खलाको मनोरम दृश्य र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न आउने पर्यटकको सुविधालाई समेत ध्यान दिन सरकार, स्थानीय प्रशासन र केबलकार आयोजनासँग आग्रह गरेका छन्।
केबलकार निर्माणसँगै सडक, पदमार्ग तथा अन्य आवश्यक पूर्वाधार र सुविधामा सुधार गर्न सके पाथीभरा क्षेत्र देशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने स्थानीय व्यवसायीहरूको विश्वास छ। यसले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेशकै आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउन सक्ने उनीहरूको भनाइ छ।रिन सक्ने विस्वास स्थानीय व्यवसायीहरूको छ ।





प्रतिक्रिया