रास्वपाले प्रम बालेनलाई नफेरे जनताले फेर्नुपर्ने अवस्था आउन सक्छ– नेता ढुङ्गेल


काठमाडौँ । नेकपा एमालेका नेता माधव ढुङ्गेलले बालेन सरकार जनतालाई राहत दिन असफल भएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको विकल्प खोज्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता ढुङ्गेलले रास्वपाले प्रधानमन्त्री नफेरे जनता स्वयंले फेर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । वर्तमान सरकारका काम-कारबाहीका कारण आम नागरिकमा तीव्र उकुसमुकुस पैदा भइसकेको उनको दाबी छ ।

‘कि त अब रास्वपाले प्रधानमन्त्री बालेनलाई फेर्नुपर्छ, नत्र जनताले फेर्नुपर्ने अवस्था आउन सक्छ । जनताभित्र उकुसमुकुस भइसकेको छ,’ ढुङ्गेलले भने, ‘सुशासनको नाममा सरकारले करको दर बढाएर जनतालाई ऋणको भारी बोकाएको छ । अहिलेसम्म जनतालाई राहत हुने उल्लेखनीय कुनै काम गर्न सकेको छैन ।’

नेता ढुङ्गेलले प्रधानमन्त्री शाह राजनीतिक दलहरूप्रति अनुत्तरदायी बनेको र लोकतन्त्र सुदृढ गर्ने दिशामा नलागेको आरोप लगाए । आफ्नै पार्टी रास्वपाका सभापति रवि लामिछानेले बोलाएको बैठक तथा सर्वदलीय बैठकसमेत प्रधानमन्त्रीले छल्ने गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको सम्बोधनमा समेत राजनीतिक दलहरूप्रति कुनै रेस्पोन्स नदेखिएको टिप्पणी गरे ।

बालेन सरकारले राज्यका सबै संयन्त्रमा अनावश्यक हस्तक्षेप गरेको ढुङ्गेलको आरोप छ, ‘सरकारले कर्मचारी, न्यायालय, प्रहरी, पत्रकार सबै चलाएको छ । यो के गर्न खोजेको हो ?’
यस्तै, भोटेकोशी र बूढीगण्डकीका बाढीपीडितले अझै राहत नपाएको तथा शहरका नदी किनारबाट हठात् हटाइएका सुकुम्बासीहरूको उचित व्यवस्थापन हुन नसकेको भन्दै उनले सरकारको आलोचना गरे ।

‘रास्वपा सरकार अहिले घर-घरमा पासपोर्ट पुर्‍याउने कुरा गर्छ, तर चुनावअघि विदेशबाट युवालाई स्वदेश फर्काउने भनेर हौवा पिट्यो,’ व्यङ्ग्य गर्दै ढुङ्गेलले भने, ‘अहिले विदेशका कुन गल्लीमा स्वदेश फर्काउन स्टिकर टाँसियो ?’

ठूलो मिहिनेत र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक संविधानकै कारण बोल्न र स्वतन्त्र मिडिया खोल्न सम्भव भएको स्मरण गराउँदै उनले संविधानको रक्षाका लागि सबै सचेत हुनुपर्ने बताए ।
फरक प्रसंगमा नेता ढुङ्गेलले आगामी महाधिवेशनसम्म एमालेलाई केपी शर्मा ओलीले नै नेतृत्व र अगुवाइ गर्ने स्पष्ट पारे ।