काठमाडौं, २२ कात्तिक । तिहारको तेस्रो दिन आइतबार देशभर धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइएको छ। तिहारको मुख्य दिनका रूपमा मनाइने लक्ष्मीपूजामा हिन्दू धर्मावलम्बीहरूले घर, कार्यालय, उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा दीप प्रज्ज्वलन गरी लक्ष्मीको पूजा गरेका छन्।
लक्ष्मीपूजाका अवसरमा घर तथा कार्यालयहरू विभिन्न रङका आकर्षक रंगोलीले सजाइएका छन्। लक्ष्मीको स्वागतका लागि घरको मूलढोका खुला राख्ने परम्परासमेत रहेको छ।
लक्ष्मीपूजा धनसम्पत्ति प्राप्तिको कामना गर्ने पर्व मात्र नभई सरसफाइ, कृतज्ञता, आशा र नयाँ सुरुवातको सन्देश दिने सांस्कृतिक पर्वका रूपमा पनि लिइन्छ।
परम्परागत तेलका दियो, झिलिमिली बत्ती र देउसीभैलोका गीतले परिवार, छिमेक तथा समुदायलाई उत्सवमा जोडेको छ। तिहारको उल्लाससँगै काठमाडौं उपत्यका पनि दीपावलीको उज्यालोमा झनै आकर्षक देखिएको छ।
लक्ष्मीपूजापछि घरघरमा बालिएका बत्तीले काठमाडौंका विभिन्न क्षेत्र झिलिमिली बनेका छन्। धरहरा, स्वयम्भू, न्युरोड, महाबौद्ध, नयाँ बानेश्वर र कोटेश्वरलगायतका क्षेत्रमा दीपावलीको रौनक छाएको छ।
काठमाडौं उपत्यकाका अधिकांश घर, कार्यालय, पसल तथा व्यावसायिक भवनहरू रंगीन बत्तीले सजिएका छन्। झिलिमिली बत्तीले सिंगारिएको काठमाडौंका विभिन्न स्थानका दृश्यले तिहारको उल्लास र उमंगलाई थप जीवन्त बनाएका छन्।





प्रतिक्रिया